काठमाडौं । पाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेको मन्त्री पद जाने भएको छ ।
आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
आले पटक पटक विभिन्न बहानामा आलोचित हुँदै आएका छन्। यसअघि पनि मन्त्री आलले कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो। त्यतिबेला २ मिनेट २५ सेकेन्डको भिडियो सार्वजनिक भएको थियो।
त्यतिबेला आलेको राजीनामासमेत माग भएको थियो। मन्त्री आलेको सचिवालयले त्यतिबेला तथ्यहीन आरोप लगाउन खोजेको भन्दै खण्डन गरेको थियो।
बारम्बार विवादमा तानिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आलेलाई बर्खास्त गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले मन्त्री आलेको ठाउँमा एकीकृत समाजवादीकै नेता जीवनराम श्रेष्ठलाई पर्यटनमन्त्री बनाउने भएका छन् ।
यस्तै सहरी मन्त्री रामकुमारी झाक्रीको ठाउँमा मेटमणि चौधरी, श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवरलाई पठाइने भएको छ । हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने तयारी छ ।
भवानी खपुङलाई विरोध खतिवडाको ठाउँमा मन्त्रीको रुपमा पठाइने भएको छ । उनीहरुमध्ये मन्त्री जीवनरामको सपथ ग्रहण आजै र आज नभए भोलिसम्ममा गरिसक्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
सांसद चौधरीले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै केही समयदेखि एकीकृत समाजवादीले बुझाएको नयाँ लिस्ट पास हुन सकेको थिएन ।
यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसप पनि सरकारमा सहभागी हुने तयारीमा छ । देउवाले लोसपालाई उपसभामुखसहित दुई मन्त्रालय दिने प्रस्ताव गरेका छन्। यसमा विषयमा लोसपाका शीर्ष नेताहरुसँग आज थप छलफल हुने भएको छ ।
उता, जनता समाजवादी पार्टी जसपा पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्रराय यादव र रामसहाय प्रसाद यादव मन्त्री छन्।
सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेका महेन्द्रराय यादवबाहेकका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह, इस्तियाक राईलाई सरकारमा पठाउने तयारी भइरहेको बताइन्छ ।