Latest News

निहारिकाको न्याय माग्दै अनसन बसेका यी दुई जनाले तोडे अनसन

Nepalese Times June 14, 2022 (2 Year ago)    769 Views

काठमाडौं । काठमाडौंको बसन्तपुर डबलीमा निहारिका राजपुतको न्यायका लागि भन्दै अनसन बसेका २ जनाले अनसन तोडेका छन् ।

पीडित युवती निहारिकासहित नाबालक बोकेर तीन जना बसन्तपुरमा अनसन बसेका थिए। पाँचौं दिनमा पीडित युवतीका समर्थक जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन्।

उनीहरूलाई भेट्न मंगलबार मानव अधिकारकर्मी मोहना अन्सारी घटनास्थल पुगेकी थिइन्। त्यसपछि आफूहरूले अनसन तोडेको उनले बताइन्। आफूहरूले पीडित युवतीकै अनुरोधमा अनसन तोडेको ओझाको भनाइ छ ।

उनले भनिन्, ‘अनेरास्ववियुको सदस्य पनि हुँ। इन्चार्ज माधव ढुंगेल, नविना लामा लगायत पनि आउनुभएको थियो। उहाँहरूले भोलि संसदमा कुरा उठाउँछौं। तर तिमी यहाँ बसेर भएन। वार्तामा जाँदा हामीलाई अप्ठ्यारो हुने भयो, असहज भयो । आफैं संयोजक भएर आउँछौ भने वार्ता गर्न जान तयार हुन्छौं नत्र गर्दैनौं भनेको हुँदा तोडेको हुँ।’

२०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा पीडित युवतीमाथि धनुषाको क्षिरेश्वर नगरपालिका–३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनको भनाइ छ।

आफूमाथि बलात्कार गर्नेलाई अदालतले सफाइ दिएकाले न्याय माग्दै निहारिका अनसन बसेकी हुन्। महोत्तरीको जलेश्वर नगरपालिका–८ की ती युवती अनसन बसेको मंगलबार पाँचौं दिन हो।

यसअघि माइतीघरमा अनसन बसेकी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिँदा आफू र आफ्नो बच्चालाई प्रहरीले लछारपछार पारेको भन्दै उनले फेसबुक लाइभ गरेकी थिइन्। त्यसपछि उनीहरू बसन्तपुरमा अनसन बसेका हुन्।

उनीहरूले पाँच वटा माग राखेर अनसनमा बसेका हुन्। लामो समयदेखि आफ्नो न्यायको माग गर्दै विभिन्न निकायमा धाउँदा पनि नपाएपछि अनसनको बाटो रोजेको उनीहरू बताउँछन्।

आफ्ना २१ महिने बच्चाको डिएनए जाँच हुनुपर्ने उनको माग छ। त्यस्तै चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको मुद्दाको सुनुवाइ छिटो हुनुपर्ने उनले माग गरेकी छन्।

प्रतिक्रिया दिनुहोस