काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई नेपालले अघि बढाउन नचाहेमा जुनसुकै बेला खारेज हुन सक्ने बताएका छन्।
विनियोजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालयबारेमा उठेका प्रश्नहरुको मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले यसो भनेका हुन्।
‘एमसीसी अनुदानबाट ऊर्जा र सडकमा लगानी हुनेछ। व्यापक गृहकार्यबाट एमसीसी पास भएको हो’, उनले भने, ‘एमसीसीसहित सहयोग लिँदा राष्ट्रिय हितप्रतिकुल लिएको छैन। नेपाल सरकरले एमसीसी अनुदानलाई निरन्तरता दिन नसकेमा जुनसुकै समयमा खारेज हुन सक्छ।’
उनले अमेरिकी सेनाका कमान्डर फ्लिनको भ्रमणले नेपाललाई सैन्य गठबन्धनमा लैजाने कुरा अफवाह मात्रै भएको पनि बताए।
‘अमेरिकी सेनाका कमान्डरको भेटघाटले सैन्य गठबन्धनमा लाने पो हो कि भन्ने शंका आएको छ। स्टेट पार्टनरसिपबाट अमेरिकी लबीतिर लाने हो कि भन्ने अफवाह रहेछ’, उनले भने, ‘इन्डो प्यासिफिक रणनीति केही पनि होइन। इन्डियन ओसनदेखि प्यासिफिक ओसनसम्म जोड्ने कुरा मात्रै हो।’
उनले अमेरिकी सेनासँगको स्टेट पार्टनरसिप प्रोग्राम मानवीय सहयोगका लागि आउने पनि उनले बताए।
‘पार्टनरसिप भन्नेबित्तिकै कुनै सम्झौता होइन यो। मानवीय र प्राकृतिक प्रकोपबारे सैनिक सहकार्य गर्ने हो’, उनले भने, ‘कहिलेकाहीँ लुज एलायन्स आउँछन्। अनि ट्रिटीका रुपमा जान्छन्।’
उनले कांग्रेस नेतृत्वको यो सरकार केपी ओली नेतृत्वको जत्तिकै स्वाभिमानी राष्ट्रवादी र देशभक्त रहेको बताए।
‘म पूरा विश्वासका साथ भन्छु स्वाभिमानी देशको राष्ट्रवादी र देशभक्त सरकार कुनै सैन्य गठबन्धनमा जाँदैन’, उनले भने, ‘कुनै पनि देशसँग सैन्य गठबन्धन गर्ने अहिले आवश्यकता नै छैन। देशको हितबाहिर परराष्ट्र मन्त्रालय जाँदैन।