Latest News

यस्ता छन् आज बस्ने एमाले सचिवालय बैठकका एजेण्डा, घनश्यामलाई होला त कारबाही ?

Nepalese Times June 13, 2022 (2 Year ago)    539 Views

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको हो । कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत एजेण्डा तय गरेको छ ।

एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ ।

त्यस्तै, स्थानीय चुनावलगत्तै एमाले वृत्तमा छलफलको विषय बनेको स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीबारे भने केन्द्रीय कार्यालयले छलफलको एजेण्डा बनाएन ।

‘त्यसबारे कुरै भएन । कसैले प्रस्ताव पनि ल्याएन, एजेण्डा पनि बनेन’ एक सहभागीले भने, ‘भोलि एजेण्डा बन्न पनि सक्छ । कसैले उठाए भने त छलफलको एजेण्डा हुने नै भयो नि ।’

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले अनुशासन आयोगले भूसाललाई कारवाहीको सिफारिस गरेको छ । आयोगका अध्यक्ष केशव बडालले सचिवालयको बैठक राखेर भूसाललाई कारवाही गर्न सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस