Latest News

बलात्कारपछि जन्मिएको बच्चा बोकेर निहारिका राजपुतले सुरु गरिन् आमरण अनसन, यस्ता छन् मागहरु

Nepalese Times June 10, 2022 (2 Year ago)    987 Views

सुनिता गौतम

काठमाडौं । अविवाहित आमा निहारिका राजपुतले अदालतबाट समेत न्याय पाउन नसकेको भन्दै आमरण अनसन सुरु गरेकी छिन् । जिल्ला अदालत धनुषाले आरोपी शिवराज श्रेष्ठलाई सफाइ दिएको र आफूले धेरै निकायमा धाउँदा पनि न्याय पाउन नसकेको भन्दै उनले ५ बुँदे मागसहित काठमाडौंमा अनसन सुरु गरेकी हुन् । आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र आफू गर्भवती भएर बच्चासमेत जन्मिएको उनको भनाइ छ ।

उनले २१ महिनाको बच्चा बोकेर अनसन सुरु गर्दै भनिन्, ‘ म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले २१ महिनाको भइसकेको छ । म बलात्कृत भएपछि न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ होला । जहाँ जहाँ पुगे पनि मलाई नै गलत देखाइयो । प्रहरी प्रशासनले अनुसन्धानको सुरूवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो ।’

उनले प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट असहयोग भएको र आफ्नै घर परिवारबाटसमेत तिरस्कृत हुनुपरेको बताइन् । सबैबाट असहयोग भएपनि आफू २ वर्षदेखि काठमाडौंमा कोठा भाडामा बसिरहेको भन्दै उनले आफू न्यायको लडाईंमा हुँदा ज्यान मार्ने धम्कीसमेत आएको बताइन् ।

उनले भनिन्, ‘म न्यायको लडाइँमा हुँदा ज्यान मार्ने धम्कीदेखि आर्थिक प्रभलोपन पनि दिए । तर, म आफ्नो कुरामा अडिग थिएँ । जसका लागि राष्ट्रिय महिला आयोगको ढोका ढकढकाउन पनि पुगें । तर, उल्टै मलाई कमजोर बनाउने व्यवहार पाएँ ।’ धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते पिडकको पक्षमा फैसला गरेको भन्दै उनले फैसला काखमा रहेको बच्चा लिएर रूँदै सुन्नुको बाहेक अर्को विकल्प नरहेको बताइन् ।
उनले जिल्ला अदालतको फैसला उपर उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरिन् । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन ।

यस्ता छन् उनका ५ बुँदे मागहरु

१, मेरो बच्चाको डिएनए -DNA टेस्ट गरिनुपर्यो । काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरूले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले थियो ?  यसको निष्पक्ष छानबिन हुनुपर्यो ।

२, उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले  छिटो भन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो ।

३, मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्यो ।

४, घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरूवातदेखि नै अनुसन्धान गरिनुपर्यो । हिजो मेरो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुपर्यो ।।उनीहरूमाथि पनि छानबिन हुनुपर्यो ।

५, मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्यो ।
जबसम्म मेरा यी मागहरू पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको- प्रत्याभूति हुँदैन । त्यतिन्जेलसम्म म मेरो अनसन तोड्ने छैन ।

प्रतिक्रिया दिनुहोस