Latest News

महाधिवेशन सकिएको पाँच महिनापछि माओवादीले पदाधिकारी टुंगो लगाउँदै, महासचिव को ?

Nepalese Times June 9, 2022 (2 Year ago)    555 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउने गरी गृह कार्य सुरु भएको छ ।

पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्नेगरी नेताहरु जुटेका हुन् । माओवादी ८ औ महाधिवेशन पुस ११ गतेदेखि ८ दिनसम्म चलेको थियो ।

आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय संगठनको टुंगो लगाउनेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरु गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘स्थानीय तह चुनावलगतै २० गते केन्द्रीय समिति बस्ने भनिएको थियो ।

स्थानीय तहका प्रमुख/उपप्रमुखको प्रशिक्षण भएकाले बैठक रोकियो’ पोखरेलले भने, ‘अब असार १५ गते केन्द्रीय समिति बैठक अघि नै पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय समिति टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ ।’

स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय संगठनको कमिटी टुंगो लगाउन खोजेपनि थप विवाद हुने भएकाले रोकिएको थियो । अब आगामी प्रदेश र संघको चुनाव अघि नै पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय संगठनका सबै कमिटीले पूर्णता पाउनेगरी गृहकार्य थालिएको छ ।

माओवादीमा पार्टी पदाधिकारी ९ देखि १५ जनासम्म बनाउने गृहकार्य थालिएको छ । अन्य पदमा खासै विवाद नभएपनि महासचिवको बन्नेमा भने चर्को विवाद देखिएको छ । महासचिवका मुख्य दावेदारको रुपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका छन् ।

अध्यक्षपछिको शक्तिशाली मानिएको महासचिव पदमा पार्टीका पूर्वसचिव वर्षमान पुन अनन्त र अर्थमन्त्री जनार्दन शर्माको सशक्त दाबी रहेको छ ।

यस्तै सो पदमा माओवादीका नेता देव गुरुङ, पम्फा भुषाल, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायतको नाम पनि चर्चामा रहेको छ । अध्यक्ष प्रचण्डले महासचिवका दाबेदारद्वय पुन र शर्मालाई बोलाएर आपसमा छलफल गरेर मिलेर आउन सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डले दुवैलाई बोलाएर को महासचिव बन्ने भन्नेबारे क्लियर भएर आउन भनिसकेका माओवादी केन्द्र उच्च स्रोतले जनाएको छ ।

महासचिवमा सर्वसम्मत नभएमा चुनाव गरेर भएपनि टुंगो लगाउने भन्नेछ ।’ महासचिवमा सहमति नभए आन्तरिक चुनाव गरेर भएपनि जानेमा प्रचण्ड आफै समेत पुगेका छन् ।

सकेसम्म सहमतिका आधारमै पदाधिकारीको टुंगो लगाउने प्रचण्डको चाहना छ । यसका लागि उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, ६ उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुषाल, गणेश शाह, गिरिराजमणी पोख्रेल, हरिबोल गजुरेललाई बनाउने तयारी गरेको स्रोतको दावी छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस