Latest News

केन्द्रीय सदस्यसहित यी १० नेता एमालेबाट निष्काशित, अरु को-को छन् निसानामा ?

Nepalese Times June 8, 2022 (2 Year ago)    761 Views

जनकपुधाम । स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोसहित १० जनालाई पार्टीबाट निष्काशन गरेको छ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै एमालेका पूर्व जिल्ला अध्यक्ष तथा मिथिला नगरपालिकाका पूर्वमेयर समेत रहेका हरिनारायण महतोले पार्टीको चुनाव चिह्न सूर्य छाप लिएर उम्मेदवारी दिएका उम्मेदवारलाई हराउने गतिविधिमा लागेकाले उनलाई पार्टीबाट निष्काशन गरिएको एमाले जिल्ला कमिटीले जानकारी दिएको छ।

महतोसहित एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरीत विद्रोह र अन्तरघात गरेको भन्दै प्रदेश कमिटी सदस्य सरोज कुमार मिश्र (जनकपुरधाम), जिल्ला कमिटी सदस्य महेन्द्र महतो (गणेशमान चारनाथ नगरपालिका) र जिल्ला कमिटी सदस्य राजु गुप्तालाई समेत कारबाही गरेको छ।

त्यसैगरी जिल्ला कमिटी सदस्य रामभरोसी राय (विदेह नगरपालिका), जिल्ला कमिटी सदस्य हफिज अन्सारी (जनकपुरधाम), जिल्ला कमिटी सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटी सदस्य कपिल राय (जनकनन्दनी गाँउपालिका), जिल्ला कमिटी सदस्य मनोज यादव (मुखियापट्टी मुसहरनिया) तथा ईद मोहम्मद साफी (जनकपुरधाम)लाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।

अध्यक्ष यादवले स्थानीय तहको निर्वाचनमा एमालेको सूर्य चिह्न लिएर उम्मेदवार भई चुनाव लडेका उम्मेदवारविरुद्ध प्रदेशभरमा प्रत्येक्ष र अप्रत्येक्ष रुपमा संलग्न अन्य केन्द्रीय सदस्यदेखि जिल्ला कमिटी सदस्यहरु समेतको कारबाही प्रक्रियाको अन्तिम चरणमा रहेको जनाए। तर, अन्य जिल्लाबाट कारबाहीको सिफारिस आउन बाँकी रहेको बताए।

एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले पार्टीको हित विपरीत कार्य गर्नेहरुलाई कारबाहीका लागि जिल्ला कमिटीले निर्णय गरी प्रदेश कमिटीमा पठाएकोमा जिल्ला कमिटीको सो निर्णय विद्यानसम्मत रहेको भन्दै गत २२ गते नै प्रदेश कमिटीले कारबाहीको सो निर्णय अनुमोदन गरेको बताए।

यस्तै स्थायी कमिटी सदस्य घनश्याम भूसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको नेकपा एमालेले सांसद रामवीर मानन्धरमाथि पनि कारबाही गर्ने तयारी गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूषाललाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए उनलाई कारबाही गर्ने निर्णय भएसँगै एमालेभित्रको विवाद छताछुल्ल भयो ।

भुषालले टेलिभिजनमा दिएको अन्तर्वार्तामा गम्भीर विषयहरु रहेका र त्यस विषयमा विधिवत, संस्थागत रुपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाइएको अनुशासन आयोगका अध्यक्ष केशव बडालको भनाइ छ ।

भूसालमाथि कारबाहीको डण्डा चलाउन नपाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का एमाले सांसद मानन्धरलाई पनि कारबाहीको तयारी गरेका हुन् ।

स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन सक्रिय भएको आरोप लागेका मानन्धरलाई कारबाहीको तयारी भएको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस