काठामाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । फोहोर व्यवस्थापनका लागि सुरक्षाकर्मीले बल नै प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएलगत्तै यसलाई चौतर्फी चासोको रुपमा हेरिएको छ ।
यसैक्रममा नेपाली कांग्रेसककी नेतृ सिर्जना सिंहले बन्चरे डाँडाका जनता सबैलाई न्याय हुनेगरी काम गर्न काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएकी छिन् ।
काठमाडौं महानगरपालिकामा कांग्रेसबाट उम्मेदवारी दिएर पराजित भएकी हुनले काठमाडौं र बन्चरे डाँडाका सबै जनताहरुको न्याय हुनेगरी काम गर्न नेपाल सरकार र महानगरपालिकाको ध्यानाकर्षण गराएकी हुन् ।
उनले लेखेकी छिन्, ‘स्थानिय जनप्रतिनिधीसंग छलफलमा बस्ने तर जनप्रतिनिधी मिटीङबाट बाहिरीन नपाउदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यस्थापन दिर्घकालिन हुदैन र राम्रो पनी होईन भनेर बुझ्नुपर्यो।कामकारबाही सहमती अनुरूप हुनुपर्यो । काडमान्डुको जनता होस वा बन्चरे डॅाडाका जनता सबैलाई न्याय होस । कामपा । नेपालसरकार ।’
फोहोर व्यवस्थापनका लागि भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पदभार ग्रहण गरेकै दिनदेखि सक्रिय छन् । उनी काठमाडौंको फोहोर व्यवस्थापनसकितका कामका लागि कहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे त कहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न पुगे ।
यस्तै उनले पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटेका छन् । आफ्नो पहिलो प्राथमिकतामा काठमाडौंको फोहोर व्यवस्थापन रहेको र त्यसपछि अरु काम गर्दै जाने उनले भनेका छन् ।
यसैक्रममा नेपाली काँग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।
सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंबासीले आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।
यस्तै नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताए ।
आजको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै श्रेष्ठले फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने माग गरे । तत्काल फोहोर नउठे काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिंदै उनले भने, ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु ।’
अन्तर्राष्ट्रिय नियोगहरुले महामारीको जोखिम रहेकाले अत्यावश्यक नभएसम्म बाहिर ननिस्किन आग्रह गर्दै आन्तरिक रुपमा सर्कुलर गरेको आफूले बुझेको भन्दै श्रेष्ठले यो लज्जाको विषय भएको बताए ।