Latest News

ल्यान्डफिल साइटमा मिथेन ग्यास जुनसुकै बेला विस्फोट हुन सक्ने

Nepalese Times June 8, 2022 (1 Year ago)    1018 Views

काठमाडौं । ल्यान्डफिल साइटमा मिथेन ग्यासको व्यवस्थापन गर्न नसके जुनसुकै बेला विस्फोट हुनसक्ने सम्भावना रहेको छ । चार दिनअघि सिसडोल ल्यान्डफिल साइटको दुर्गन्ध मापन गर्न पुगेको नास्टका वैज्ञानिकहरूको टोलीले काठमाडौं महानगरपालिकालाई दिएको रिपोर्टमा सो सम्भावना रहेको उल्लेख छ ।

वैज्ञानिक डा. भोजराज पन्तको टोलीले तयार गरेको रिपोर्टमा सिसडोल ल्यान्डफिल साइटको दक्षिण क्षेत्रबाहेक सबै क्षेत्रबाट ग्यास बाहिरिन नसकेको कारण विस्फोट भएर आगलागी हुने सम्भावना रहेको उल्लेख छ । फोहोर व्यववस्थापन गर्न नसक्दा फोहोर गुम्सेर बनेको मिथेन ग्यास खतरनाक बनेको हो ।

ग्यास बाहिरिन पाइप (भेन्स) राख्नुपर्नेमा अधिकांश क्षेत्रमा सो पाइप नराखेको देखिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न र दुर्गन्धको मापन गर्न नास्टलाई आग्रह गरेपछि नास्टको वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पुगेको थियो । शनिबार अनुसन्धान गरेर फर्केको टोलीले सोमबार कामपालाई रिपोर्ट बुझाएको थियो ।

रिपोर्टअनुसार तत्काल ग्यास बाहिर जाने व्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै फोहोर विसर्जन गरेपछि सो फोहोरलाई माटोले पुर्नुपर्ने, फोहोरको लेदो (लिचेड) व्यवस्थित गर्नुपर्ने, फोहोर विसर्जन गर्नुअघि केमिकलले स्प्रे गर्नुपर्ने, मिथेन ग्यासको सम्भावित दुर्घटनाबाट जोगिन समुदायलाई सचेत गराउनुपर्ने लगायत सुझाव दिइएको छ ।

यसैबीच कामपाले प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न शुरू गरेको छ । करिब २ सयको संख्यामा रहेका प्रहरीको टोली बन्चरेडाँडा ल्यान्डफिल साइट र सवारी साधन आउने बाटोमा परिचालन गरिएको छ । प्रहरी वृत्त वालाजुका प्रहरी सहायक उपरीक्षक (डीएसपी) गौतम मिश्रको नेतृत्वको टोलीले आन्दोलनकारीलाई पक्राउ गरेको थियो ।पक्राउ गर्नेक्रममा दुईतर्फी झडप भएको थियो ।

घर–घरबाट प्रहरी टोलीलाई ताकेर ढुंगा हान्न थालेपछि प्रहरीले घर–घरमा पुगेर आन्दोलनकारीलाई पक्राउ गरेको थियो ।स्थानीय जन प्रतिनिधिसँग सोमबार राती शहरी विकास मन्त्रालयलमा सहमति भएलगत्तै हिजो मंगलबार बिहानदेखि फोहोर बोकेको सवारी साधन ल्यान्डफिल साइटतर्फ गएको थियो । स्थानीयले बाटो बन्द गरी फोहोर बोकेका सवारी साधनलाई बाटैमा रोकेपछि सरकारले प्रहरी परिचालन गरेको हो । करिब एक महिना अघि पनि यसै गरी प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिएको थियो ।

सुरक्षाटोलीको घेरामा मंगलबार साँझ ५ बजेसम्म मात्र फोहोर विसर्जन गरिएको थियो । प्रहरीले चारबजेदेखि तीनपिप्लेबाट फोहोरको गाडी फिर्ता पठाएको छ । तीन पिप्लेबाट ल्यान्डफिल साइटसम्म पुगेका सवारीलाई फोहोर खसाल्ने दिएको थियो । साँझ परेपछि आन्दोलनकारीले सवारी साधनमा तोडफोड गरी बाटो अवरोध गर्न सक्ने भन्दै प्रहरीको आग्रहमा साँझ साढे ५बजेसम्म मात्र फोहोर विसर्जन गरिएको थियो ।

लगातार विरोध गरेपछि प्रहरीले आन्दोलन परिचालन समितिका संयोजक श्रीराम ढुंगानासहित करिब ३० जनालाई पक्राउ गरेको थियो ।पक्राउ परेका सबैलाई नेपाल प्रहरीको टोलीले ल्यान्डफिल साइटस्थित शसस्त्र प्रहरी बलको क्यापमा लगेको थियो । सो क्याम्पबाट सशस्त्र प्रहरीले फोहोरमैला व्यवस्थापनमा सुरक्षा प्रदान गरिरहेका छन् । ‘मंगलबार करिब २ सय ट्रक फोहोर विसर्जन गरेका छौं, आज सोही क्रम जारी रहनेछ–बन्चरेडाडा ल्यान्डफिल साइटका प्रमुख रविन प्यासीले भन्नुभयो ।

स्थानीयले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र साामाजिक जीवन सुधारको माग राखेर दुईसातादेखि फोहोर व्यवस्थापन ठप्प पारेका थिए । सोमबार शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यको रोहबरमा त्रिपक्षीय प्रतिवद्धतामा हस्ताक्षर भएको थियो ।

बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाको तर्फबाट निर्देशक रविन्द्र बोहोरा, कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र धुनिबेंसी नगर पालिकाकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गर्नुभएको थियो । प्रतिवद्धताअनुसार शहरी विकास मन्त्रालयले प्रभावित क्षेत्रका ५ वटा क्षेत्रका लागि आव. २०७९-०८० मा ४२ करोड ५० लाख रुपियाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षरोपण कार्यका लागि १ करोड ७० लाख विनियोजन गरेको जनाइएको छ ।जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी हुनेछ । सो प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने उल्लेख छ । सम्झौतामा ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया शुरू हुनेछ ।

कामपाले एक हप्ताभित्र धुनिबेंसी नगरको वडा १, ३ र४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयबासीको स्वास्थ्य बिमा गर्नेछ । यसमा नेपाल स्वास्थ्य बिमा बोर्डको विधि र दोहोरो नपर्ने गरी बिमा हुनेछ । यी वडामा यसअघि उपलब्ध गराइँदै आएको पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिइने सम्झौता भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) को प्रतिवेदनका आधारमा ल्यान्डफिल साइटको दुर्गन्ध हटाउन १० दिनभित्रमा रासायनिक वा जैविक उपचार विधि अबलम्बन गरिनेछ । अहिले घर बाहिर निकालिएको फोहोर वर्गीकरण सम्भव नभएकाले सडकमा थुप्रिएको फोहोर यथास्थितिमा उठाइनेछ ।यो क्रम बढीमा असार मसान्तसम्म चल्नेछ । नेपालसमाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस