काठमाडौं । सरकारमा सहभागी नेकपा माओवादी केन्द्रभित्र पनि मन्त्री फेर्ने चर्चा सुरु भएको छ । अहिले माओवादीबाट सरकारमा पाँच मन्त्री सहभागी छन् । उनीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने गृहकार्य सुरु भएको हो ।
माओवादी केन्द्रबाट अर्थमन्त्रीको जिम्मेवारीमा जनार्दन शर्मा छन् भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ छिन् । देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविध, महेश्वर गहतराज युवा तथा खेलकुद र पम्फा भुसाल ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री छिन् ।
हाल माओवादीभित्र तीन गुट सक्रिय छन् । अर्थमन्त्री समेत रहेका शर्मा, नेता वर्षमान पुन र नारायणकाजी श्रेष्ठका गुट छन् ।
जेट आउनुअघि अर्थतन्त्र संकटमा परेको भन्दै माओवादीभित्रै अर्थमन्त्री शर्माको आलोचना हुँदै आएको थियो । शर्मा गुटबाहेकका नेताहरूले शर्मालाई हटाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब नै दिएको स्रोत बताउँछ ।
बजेट आउनुअघि पार्टीभित्रै अर्थमन्त्रीविरुद्ध ठूलो मत रहेको तर, बजेट आएपछि उनीविरुद्धको आवाज केही कम भएको तर, विरोधी खेमाले मन्त्री फेर्न अध्यक्षलाई दबाब भने दिइरहेका एक नेताले बताए ।
यस्तै आफ्नो गुटका नेता गिरिराजमणि पोखरेललाई मन्त्री नबनाएको भन्दै नारायणकाजी श्रेष्ठ रुष्ट छन् । सुरुमा श्रेष्ठ आफैँ सरकारमा जान खोजेका थिए । माओवादीभित्र बजेटअघि अर्थमन्त्री शर्मा र शिक्षामन्त्री पौडेलप्रति नेता–कार्यकर्ताहरू रुष्ट थिए ।
वर्षमान समूहमा रहेका नेताहरूले पनि निर्वाचनअघि मन्त्री बन्न इच्छा देखाइरहेको बताइन्छ । गैरसांसद व्यक्ति ६ महिनाका लागि मन्त्री बन्न पाउने भएकाले निर्वाचनसम्मकै लागि भए पनि चुनाव हारेका नेताहरूले समेत मन्त्रीमा इच्छा देखाइरहेको माओवादीका एक केन्द्रीय कार्यालयका सदस्य बताउँछन् ।
खुला र समूहगत रूपमा मन्त्री फेर्न कसैले माग वा प्रस्ताव भने गरेका छैनन् । तर, प्रचण्डसँगको छुट्टाछुट्टै भेटमा मन्त्री फेर्न दबाब दिइरहेको बताइन्छ ।
निर्वाचनअघि असन्तुष्ट रहेका मधेस, सुदूरपश्चिम र पूर्वका नेताहरूलाई प्रचण्डले मन्त्री बनाउन सक्ने सम्भावना रहेको माओवादी नेताहरू बताउँछन् । अध्यक्ष प्रचण्डले पनि बेलाबेला मन्त्री फेदबदल हुन सक्ने बताउँदै आएका छन् ।
माओवादीले आउँदो असार १५ गतेपछि मात्रै राजनीतिक विषयमा छलफल गर्ने जनाइएको छ । पार्टीमै पदाधिकारी चयन हुनसकेको छैन । महासचिव को बन्ने भन्नेमा सहमति जुटेको छैन । त्यसैले पहिले पदाधिकारी टुंगो लगाएर सरकारमा सहभागी मन्त्रीको समीक्षा हुने नेताहरू बताउँछन् ।