Latest News

एमालेले किन माग्यो गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा ?

Nepalese Times June 7, 2022 (2 Year ago)    549 Views

काठमाडौं । नेकपा एमालेका सांसदहरुले गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामा मागेका हुन् ।

निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय कानुन सम्मत नभएको जिकीर गर्दै एमाले सांसद लालबहादुर थापाले राजीनामा मागेका हुन् ।

बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ ।

बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि पुनः निर्वाचन गर्न लागिएको हो । त्यहाँ यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी निर्वाचन आयोगले गरेको छ ।

तर, एमाले सांसद थापाले पुनः मतदान गर्ने निर्णय गरेर निर्वाचन आयोगले जनताको अभिमतको अन्याय गरेको आरोप लगाए ।

उक्त निर्वाचनको सन्दर्भमा निर्वाचन आयुक्त सगुन शमसेर जबराको संयोजकत्वमा दुई सदस्यीय छानविन समितिको प्रतिवेदन विपरीत राजनीतिक जालझेल, षडयन्त्र एवम् प्रचलित कानुन विपरीत जेठ १२ गते प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौडेलले बहुमतका आधारमा पुनः मतदानको निर्णय गरी जनताको अभिमतमा अन्याय गरेको उनको आरोप छ ।

उनले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया लगायत दुई जना आयुक्तहरुको सभामुख मार्फत् राजीनामासमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस