Latest News

विधि र पद्दतिको कुरा गर्ने माधव नेपालले यी दुई गैरसांसदलाई बनाए मन्त्री

Nepalese Times June 5, 2022 (2 Year ago)    487 Views

काठमाडौं । एमालेको सरकार हुँदा विधि र पद्दतिको कुरा गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुईजना गैरसांसदलाई मन्त्री बनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीपरिषद्मामा ती दुवै गैरसांसद नेकपा एकीकृत समाजवादी पार्टीका हुन्।

एक महिना अगाडि गैरसांसद रहेका कानुनविद् गोविन्द बन्दीलाई कानुन मन्त्री बनाएका देउवाले आइतबार फेरि समाजवादीकै अर्का शेरबहादुर कुँवरलाई पनि मन्त्री बनाएका छन्।

कुँवर पनि सांसद छैनन्। पार्टी अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्री, प्रेम आले, विरोध खतिवडा र कृष्ण श्रेष्ठलाई फिर्ता बोलाई उनीहरुको स्थानमा नयाँ क्रमशः मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, भवानीप्रसाद खापुङ र कुँवरलाई पठाएका छन्। उनीहरुको नाम प्रधानमन्त्री देउवा समक्ष पेश गरिसकेका छन्।

संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ । तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो । अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइबार सिफारिस गरेको हो ।

पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसदलाई मन्त्री बनाउनुपरेको उपमहासचिव विजय पौडेलले जनाकारी दिए । ‘भूगोलको हिसावले पनि मिलाउनुपर्ने भयो त्यही भएर गैरसांसदलाई पनि मन्त्री बनाउन पार्टीले सिफारिस गर्यो’, पौडेलको भनाइ छ । कुँवर गत फागुन २१ सम्म राष्ट्रियसभा सदस्य रहेका थिए । त्यसो त गैर सांसद मन्त्री बन्ने कुँवर एक्ला भने होइनन् । यसअघि नै गैरसांसद रहेका गोविन्द बन्दी कानुन मन्त्रीका रुपमा कार्यरत छन् ।

को हुन् कुँवर?
एकीकृत समाजवादीको केन्द्रीय नेता कुँवरको घर अछाम हो।उनी यसअघि राष्ट्रियसभा सदस्य थिए । गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेर उनी सांसदबाट हटेका थिए।

मन्त्री बन्दा उनले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनेछन्। देउवा क्याबिनेटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीबाट पनि मन्त्री बनेका छन् तर ती सबै सांसद छन्।

प्रतिक्रिया दिनुहोस