काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ । नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि भोलि नै निर्णय कार्यान्वयन गर्ने तयारी छ ।
पार्टीको निर्णय कार्यान्वयन हुँदा चार मन्त्री र एक राज्यमन्त्रीको पद जानेछ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्नेछन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पनि राज्यमन्त्री पद रिक्त हुनेछ ।
उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने पार्टीको तयारी रहेको खनालको भनाई छ । बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।
स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरीलगायत नेताहरुलाई मन्त्रीबनाउने तयारी गरेको छ । यस्तै नेकपा एसको आज बसेको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेरको विषयले प्रवेश पाएको छ । हिजोदेखि चलिरहेको बैठकअन्तर्गत आज यो विषयले प्रवेश पाएको हो ।
सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिँदै नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको बताए ।
‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू (शीर्ष नेता) ले नै गर्नुहुन्छ ।’
अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित सो पार्टीबाट ५ जना मन्त्री छन् । आफूलाई मन्त्रीबाट हटाए पार्टी छाड्ने भन्ने केही मन्त्रीले चेतावनी दिइरहेको भन्ने चर्चाको विषयमा पत्रकारले सोधेको प्रश्नमा पार्टी निर्णय सबैले मान्नुपर्ने उपमहासचिव तुलाधरले बताए ।
उनले भने, ‘मैले चेतावनीको कुरा सुनेको छैन् । जिम्मेवार नेताहरूले त्यसो भन्न मिल्दैन् । पार्टी सरकारमा सामेल हूँदा पार्टीले पठाएको हो । पार्टीले अर्कोलाई पठाउने चाहना राख्दा उहाँहरूले स्वीकार्नुहुन्छ ।’
बाम गठबन्धनको चर्चाका विषयमा बैठकमा कुनै छलफल नभएको तुलाधारले बताए । ‘हामी बैठकको फस्ट आवरदेखि नै यसै गठबन्धनलाई अगाडि बढाउने कुरामा प्रष्ट छौ,’ उनले भने,‘बामगठबन्धन सुन्दाखेरी सुन्दा असाध्यै राम्रो लाग्ने कुरा हो । इमान्दारिता भएन भने नराम्रो हुदो रहेछ भनेर थाहा भइसकेको छ । त्यसैले त्यो सम्भव छैन ।’