Latest News

एमाले प्रवेश गर्ने अशोक राईको संकेत, दिए यस्तो प्रतिक्रिया (अडियोसहित)

Nepalese Times June 5, 2022 (2 Year ago)    579 Views

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कन वरिष्ठ नेता अशोक राई नेकपा एमाले प्रवेश गर्ने संकेत गरेका छन् । सार्वजनिक भएको एक अडियोमा उनले आफू एमालेमा प्रवेश गर्न तयार र रहेको र एमाले अध्यक्ष ओलीले भनेमा त्यो सम्भव रहेको बताए ।

आफ्ना पुर्व प्रवक्ता तथा हाल नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालसँग कुरा गर्दै वरिष्ठ नेता राईले आफुले एमाले पार्टी बनाएको र आफु एमालेमा फर्किन सम्भव भएको बताएका छन् ।

रिजालसँग भएको कुराकानीमा वरिष्ठ नेता राईले भनेका छन्” एमाले मैले बनाएको हो। आफुले एमाले नछोडेको तर साथीहरुलाई राम्रो घर बनाऊ भनेर परदेश हिडेको मात्रै बताएका छन् ।”

वरिष्ठ नेता अशोक राईले नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टी खोले र पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालसँग एकीकरण गरेका थिए ।

नेकपा एमालेमा रहँदा पार्टी उपाध्यक्ष समेत रहेका राईले सात बर्ष पहिले आफू भन्दा धेरै जुनियर नेता उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि उनी समस्यामा परेका थिए । उनीसँगै एमालेबाट संघीय समाजवादी पार्टी हुँदै फोरममा पुगेका नेताहरु राईसँग असन्तुष्ट बनेर पहिल्यै नै एमालेमा फर्किसकेका छन्।

 

खोटाङको किसान परिवारमा जन्मेका राई पुष्पलाल समूहबाट राजनीति थालेका हुन् । तत्कालीन कोर्डिनिसेन केन्द्रका नेता अमृत बोहराबाट २०३३ सालमा उनले पार्टी सदस्यता लिएका थिए । तत्कालीन माले नेता मदन भण्डारीसँग उनले १० वर्ष एउटै कमिटीमा काम गरे ।

मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार (२०५१) मा उनी यातायातमन्त्री थिए । २०५३ मा लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीकालमा संसदीय व्यवस्थामन्त्री र २०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री भए ।

अशोक राईको सार्वजनिक परिचय छ– शान्त, शालिन र भद्र नेताको । राई एमाले–माले (२०५४) विभाजन हुँदा वामदेम गौतम नेतृत्वको मालेतिर लागेका थिए ।

२०६९ सालमा पहिचानको मुद्दा मुखर हुँदा उनले एमाले छाडेर आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी बनाए । दोस्रो संविधानसभामा प्रत्यक्षतिर शून्य नतिजा हात परेपछि राईले उपेन्द्र यादवसँग एकता गरे । समाजवादी पार्टी नेपाल गठन राईको राजनीतिक जीवनको पछिल्लो घुम्ती हो ।

एमाले छाड्दा उनी त्यस पार्टीको उपाध्यक्ष थिए । तीन दशकभन्दा बढी समय बिताएका साथीहरूसँग पहिचानसहितको संघीयतालगायत विषय बाझिएपछि उनले नयाँ पार्टी बनाएका थिए । तर, अपेक्षाकृत नतिजा नआएपछि उनले घुम्ती मोडे र फोरमसँग २०७२ सालमा एकता गरे ।

दोस्रो संविधानसभामा राईको संघीय समाजवादी पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । संघीय समाजवादीसँगको एकतापछि फोरमले २०७४ सालको प्रतिनिधिसभामा १६ र राष्ट्रियसभामा दुईजना सदस्य जितेको छ । प्रदेश सभामा ३० सिट पाएको थियो ।

फोरमसँग एकता गरेपछि उनी वरिष्ठ नेता त थिए तर पार्टीभित्र प्रभाव कमजोर हुँदै थियो । नयाँ शक्तिसँगको एकतापछि राईको राजनीतिक शक्ति बढ्दै गएको छ । उनी अहिले वरिष्ठ नेताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस