काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँगको गठबन्धन औचित्यहीन भएको टिप्पणी गरेका छन् ।
विचार, सिद्धान्त र नीति नै नमिल्ने शक्तिहरूबीचको तालमेल औचित्यहीन रहेको भन्दै उनले नयाँ राजनीतिक कोर्ष सुरु गर्नुपर्ने अवस्था आएको बताए ।
गृहजिल्ला गोरखा पुगेका उनले स्वभाव नमिल्ने दलहरूसँगको गठबन्धन ठीक नभएको भन्दै उनले माओवादी र कांग्रेसले इमान्दारिता नदेखाएको आरोप लगाए ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको अस्वस्थ संघर्ष र गठबन्धनभित्र इमान्दारिता नहुँदा जसपा धेरै पालिकामा हार्न पुगेको उनले बताए ।
उनले भने, ‘गठबन्धनभित्र पनि इमान्दारिता भएन। एकपटक भएको निर्णय कार्यान्वयन गरेर जानुपर्थ्यो, माओवादी र कांग्रेसले त्यो गरेनन्।’
नेपालको निर्वाचन प्रणालीअनुसार चुनावी तालमेल र गठबन्धन आवश्यक रहे पनि विचार र स्वभाव नमिल्ने दलहरूबीचको गठबन्धन भने ठीक नभएको उनले बताए।
आधारभूत नीति नै नमिल्ने शक्तिबीचको तालमेलले क्षणिक लाभ हुने र सरकार बन्ने भएपनि काम गर्न भने नसक्ने उनले बताए । वैचारिक रूपमा एकरुपता र निटकता भएका शक्तिबीचको गठबन्धन वा चुनावी तालमेल मात्र दिगो हुने भट्टराईको भनाइ छ ।
उनले भने, ‘पटक्कै विचार नै नमिल्ने, विपरीत दिशामा हिँड्ने शक्तिहरू एक ठाउँमा आउँदा गतिहिनता र अस्तव्यस्तता आएको छ। यसलाई पुनर्विचार गर्नुपर्छ ।’
अहिलेको निर्वाचन प्रणालीलाई बदल्ने हो भने मात्र गठबन्धन आवश्यक नपर्ने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदीय प्रणालीमा मुलुकलाई लैजानुपर्ने बताए ।