Latest News

सत्ता गठबन्धन तोड्ने एकीकृत समाजवादीको संकेत, सचिवालय बैठकले गर्यो यस्तो निर्णय

Nepalese Times June 4, 2022 (2 Year ago)    1144 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सकिएको छ। स्थानीय तह चुनावको समीक्षाका लागि शनिबार पार्टी कार्यालयमा बसेको बैठक केहिअघि सकिएको हो।

बैठकमा गठबन्धनभित्र आफूहरूमाथि सम्मानजनक व्यवहार नभएको भन्दै यसलाई पाँच दलमा छलफलमा विषय बनाउने निर्णय गरेको छ ।नेताहरूले आफूहरू गठबन्धनप्रति इमानदार भए पनि अन्य दलबाट अपमान भएको रिपोर्टिङ गरेको उपमहासचिव डा‍. गंगालाल तुलाधरले बताए ।

उपमहासचिव तुलाधरले आफूहरु इमान्दार भए पनि गठबन्धनमा आफूहरुमाथि धोका भएको टिप्पणी गरे । ‘हाम्रो संगठनात्मक आधार हुँदाहुँदै, हामीले गठबन्धनमा रहेर इमान्दारिता देखाउँदा देखाउँदै कतिपय ठाउँमा हामीमाथि धोका भएको हो कि रु अथवा हाम्रो शक्ति सम्पूर्ण रुपमा परिचालित नभएको हो कि ? जे हो सत्य तथ्यमा आधारित भएर निष्कर्ष निकालेर त्यसैका आधारमा निर्णय लिन्छौं,’ उनले भने।

गठबन्धनका अन्य दलबाट धोखा भएको अनुभव भएको भन्दै उनले देशभरी संगठन हुँदा पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिँदा विश्वासघात भएको बताए ।

बैठकले तल्ला कमिटीबाट अझै सम्पूर्ण सूचना नआएकाले चुनावी समीक्षा हुन नसकेको भन्दै सातै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाएको छ । ती ती नेताले पाँच दिनभित्र सूचना संकलन गरी बैठकमा पेश गर्ने तुलाधरले जानकारी दिए ।

बैठकले प्रदेश १ मा जयन्ती राई,मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा। विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा महासचिव डा। बेदुराम भुसाललाई सूचना संकलनको जिम्मा दिएको छ ।

बैठक आइतबार पनि जारी रहने र समग्र चुनावी समीक्षा सचिवालयमा भएर त्यसको प्रतिवेदन अन्य कमिटीमा छलफलका लागि पेस गरिने तुलाधरले बताए ।

यस्तै प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणप्रति असन्तुष्टि जनाउँदै आएमो माओवादी केन्द्रले सत्ताबाट बाहिरिने संकेत देखाएपछि गठबन्धनमा खैलाबैला मच्चिएको छ।

देउवाले आजै मात्र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता गरेका छन् । शनिबार दिउँसो पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै महन्थ ठाकुर देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । उनीहरुबीच सत्ता साझेदारीबारे कुराकानी भएनभएको खुलाइएको छैन् ।

देउवाका सहयोगीहरुले भने महन्थ ठाकुरसँग संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित भएको दावी गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक भोली (आईतबार) बिहान ११ बजे पनि बोलाइएको छ । विजुलीबजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरी आगामी निर्वाचनको आन्तरिक तयारीको बारेमा छलफल हुने केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले बताए ।

केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा पनि कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस