Latest News

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, के–के भयो कुराकानी ?

Nepalese Times June 4, 2022 (2 Year ago)    514 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

पाँच दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने चहलपहल सुरु भएका बेला प्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री देउवाले ठाकुरलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । कात्तिक–मंसिरमा हुने संघ र प्रदेशको चुनावमा सहकार्य गर्ने बारेमा प्रधानमन्त्री देउवा र ठाकुरबीच छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

आफूहरुले विगतदेखि राख्दै आएको नागरिकताको समस्या, संविधान संशोधन, मुद्दा फिर्तालगायतका माग सम्बोधन गरे मात्र सत्ता पक्षसँग सहकार्य हुन सक्ने धारणा राख्ने कुरा पार्टीलाई जानकारी गराएर अध्यक्ष ठाकुर बालुवाटार गएका हुन् ।

आजै लोसपा पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक राखिएको थियो । सो बैठकमा आफू प्रधानमन्त्री देउवासँग भेट्न गइरहेको र त्यहाँ लोसपाले विगतदेखि उठाउँदै आएका मागका विषयमा कुरा राख्ने जानकारी नेताहरुलाई ठाकुरले गराएका थिए ।

पार्टीको मागका विषयमा देउवा र ठाकुरबीच छलफल हुने सो पार्टीका कार्यकारिणी सदस्य अकवाल अहमदले बताए ।

उनले प्रधानमन्त्री देउवासँग आफ्नो पार्टीको अध्यक्ष महन्थ ठाकुरले विगतदेखि उठाउँदै आएका नागरिकता र संविधान संशोधनका लगायतका माग किन पुरा भएन त्यसलाई छिटो पुरा गराउन पहल गर्न आग्रह गरेका बताए ।

यस्तै गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।

भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो । भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको थियो ।

सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस