काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । आज विहान खुमलटारस्थित निजी निवासमा पुगेर मेयर साहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।
भेटमा प्रचण्डले मेयर साहले सबैलाई मिलाएर सहकार्य गरिरहेकाले पाँच वर्षको कार्यकालमा साहलाई साथ र सहयोग गर्ने आश्वासन दिएका छन् । प्रचण्डले मेयर साहसँग भने,‘तपाईँको जित बहुत ठूलो कुरा हो। क्रान्ति हो । पहिलेका मेयरहरू। स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर ( सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो शहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’
यसअघि काठमाडौं महानगरपालिकाका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइदिन समेत उनले अपिल गरेका थिए ।
‘काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौं,’ उनले भनेका छन्, ‘यो सिलसिला उम्मेदवारी घोषणा गर्नुभन्दा पहिलेदेखि सुरू भएर निकै पछिसम्म पनि रहिरहने छ। समय अनुकूलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ। यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौं।’
बुधबार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। मेयर घोषणा हुनुअघि उनले बालकोट पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसैगरी उनले नेपाली सेनाका सेनापति प्रभुराम शर्मालाई जंगीअड्डा पुगेर भेटेका थिए।
उनले आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत् सोचको आवश्यकता भएको हुँदा सबैसँग सहकार्य गर्न अनिवार्य भएको बताए।
‘राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ। किनकि स्वतन्त्र हुनुको अर्थ केबल चुनावमा उम्मेदवारी दिँदा मात्रै रहँदैन,’ उनले लेखेका छन्, ‘स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।’
यसैक्रममा प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट गरेको र भेटघाटपछि उनीहरूको प्रेरणाले आफूहरू थप ऊर्जावान बनाएको उनले बताए। बुधबार प्रधानमन्त्री देउवाले शाहलाई बधाई दिएका थिए।