Latest News

झलनाथ खनाललाई राष्ट्रपति बनाउने ओलीको प्रस्ताव, सत्ता गठबन्धनमा खैलाबैला !

Nepalese Times June 3, 2022 (2 Year ago)    1147 Views

काठमाडौं । स्थानीय तह निर्वाचन सकिएलगत्तै नयाँ राजनीतिक तरंगहरु पैदा हुन थालेका छन् । पालिका चुनावमा गठबन्धनलाई पछि पार्दै पहिलो पार्टी बन्ने दाउसहि चुनावी मैदानमा होमिएको नेकपा एमाले दोस्रोमा खुम्चिन पुगेपछि उसले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुलाई विभिन्न अफर अघि सार्न थालेको छ ।

स्थानीय तह निर्वाचनमा दोस्रो दल बनेको एमालेका शीर्ष नेताहरु आउँदो मंसिरमा हुने चुनावसम्म जसरी हुन्छ सत्ता गठबन्धन भत्काउने रणनीतिमा सक्रिय छन् । उनीहरु कहिले वाम गठबन्धन त कहिले अरु कुनै अफरसहित माओवादी केन्द्र एकीकृत समाजवादीका नेताहरु फकाउन क्रियाशिल देखिन्छन् ।

केही दिनदेखि एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाईसमेत प्रधानमन्त्रीको अफर गरेको खबर सार्वजनिक भइरहेका छन् ।

अहिले फेरि एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने प्रस्ताव आफू नेताहरुमार्फत पुर्याएका नेताहरुले बताएका छन् । ओलीले खनाललाई राष्ट्रपति बनाउने प्रस्तावसहित आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा सत्तँ गठबन्धन टुटाएर बाम तालमेल गरेर अघि बढ्न आग्रह गरेका स्रोतको दाबी छ ।

खनाल भने कम्युनिष्ट शक्ति एक हुनुपर्ने पक्षमा आफू रहेपनि ओलीको प्रस्तावलाई स्वीकारेर अघि बढिहाल्ने अवस्थामा आफू नरहेको बताइरहेका छन् । ओलीले विभिन्न प्रलोभन देखाएर अन्तिम अवस्थामा धोका दिएको धेरै उदाहरणहरु रहेको भन्दै खनालले अहिले संवेदनशील बनेर अघि बढ्नुपर्ने समय आएको भनेका छन् ।

आगामी प्रदेश र संघको चुनावमा एमाले र एमाले विरोधी गठबन्धन मात्रै चुनावमा जाने भएकाले तयारीमा जुट्न नेता कार्यकर्तालाई उनले निर्देशन दिँदै आएका छन् । तर, एमालेका दोस्रो तहका नेताहरु भने भित्रभित्रै वाम गठबन्धन गर्नुपर्ने भन्दै माओवादी नेतालाई भेट्न थालेका छन् ।

एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत वाम गठबन्धनको पक्षमा देखिएका छन् । माओवादीबाट वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरु एमालेका नेताहरुको सम्पर्कमा रहेर भेटघाट जारी राखेका छन् ।

एमाले नेताहरु पार्टी एकता तत्काल गर्न सम्भव नभए पनि वाम गठबन्धन बनाएर प्रदेश र संघको चुनावमा जानुपर्ने मत राख्न थालेका छन् । स्थानीय चुनावबाट तेस्रो शक्तिका रुपमा कायम रहेसँगै माओवादी यतिबेला निर्णायक बनेको छ ।

उसले जता गठबन्धन गर्यो, उतै बलियो हुने स्थिति छ । माओवादीको बार्गेनिङ पावर बढेसँगै एमाले नेताहरुले नै अग्रसरता लिएर कहिले प्रचण्डलाई प्रधानमन्त्रीको अफर, कहिले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफरका साथ निवास धाउने गरेका छन् ।

तर, स्थानीय चुनावपछि एमालेलाई ‘डाउन साईज’ गर्न सफल भएको भन्दै प्रचण्ड र माधवले यही गठबन्धनलाई कायम राखेर प्रदेश र संघको चुनावमा उसलाई थप कमजोर पार्ने रणनीति बनाइरहेका छन् ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने आगामी प्रदेश र संघको चुनावमा वाम गठबन्धन बनाएर जानुपर्ने बताउँछन् । विगतमा केपी ओलीलाई एक्ल्याउन काँग्रेससँग अप्राकृतिक गठबन्धन बनाएकाले त्यसबाट देशको उन्नति नहुने गुरुङको भनाइ छ । तर, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले एमालेसहितको वाम गठबन्धन हुँदै नहुने दाबी गर्छन् ।

यसअघि चुनावमा एमालेसँग वाम गठबन्धन गरेको स्मरण गर्दै नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले त्यसमा टेकेर केपी शर्मा ओलीले पद, प्रतिष्ठा प्राप्त गरेको बताए । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले वाम गठबन्धन एमालेहरुले चलाएको हल्लामात्र भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस