Latest News

साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर नराखे कारबाहीमा परिने (सूचनासहित)

Nepalese Times June 3, 2022 (2 Year ago)    773 Views

काठमाडौं । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी गरेको छ ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो ।

साउन १ गतेपछि ट्राफिक प्रहरीले सडकमा चेकजाँच गर्ने र इम्बोस्ड नम्बर प्लेट राखेको नपाइएमा कारबाही गरिने विभागको चेतावनी छ।

इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।

मोटरसाइकललगायत साना(ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।

यस्तो छ विभागको सूचना

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची-२, भाग-२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न नामाकरण भइसकेका प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीहरुमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नका लागि मिति २०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको र

यस विभागबाट बागमती प्रदेशको एकान्तकुना- ललितपुर र गुर्जुधारा-काठमाडौं र गण्डकी प्रदेशको पोखरा-कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरिएकोमा ती कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा हाल सम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानून बमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएको प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ।

प्रचलित ऐन तथा नियममा भएको व्यवस्था बमोजिम सवारीहरुमा अबिलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन हुन वागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौं र गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सबै सवारीहरुका सवारीधनीहरुलाई यसै सूचना मार्फत जानकारी गराइएको छ।

बागमती र गण्डकी प्रदेशका माथि उल्लिखित कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा मिति २०७९ साउन १ पश्चात ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।

 

प्रतिक्रिया दिनुहोस