Latest News

प्रचण्ड र माधव नेपाललाई ओलीले गरे प्रधानमन्त्री बन्ने प्रस्ताव, के गर्लान् माधव-प्रचण्ड ?

Nepalese Times May 31, 2022 (2 Year ago)    1114 Views

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको हारलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अन्तर्घात’ भने पनि पार्टी विभाजन नै प्रमुख कारण हो भन्ने ओलीको भित्री बुझाई छ । त्यसैले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन थालेका छन् ।

माधव नेपालको भित्री कमजोरी थाहा पाएका ओलीले आगामी प्रदेश र संघको निर्वाचनका लागि नेपाललाई प्रधानमन्त्री बनाएर जाने पहिलो रणनीति बनाएका छन् । माधवकुमार नेपालले मानेनन् भने ओलीको दोस्रो रणनीति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने हो ।

नेपाल र प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नुको कारण गठबन्धन भत्काउनु हो । तर, नेपाल र प्रचण्ड ६ महिनाका लागि प्रधानमन्त्री बन्न गठबन्धन छाड्ने पक्षमा छैनन् । नेपाल र प्रचण्डले ओलीका दूतलाई यो कुरा सुनाइसकेका छन् ।

एमालेभित्र अहिले अध्यक्ष ओलीले पार्टी एकताका लागि मार्गप्रशस्त गर्नुपर्छ र पर्दैन भन्ने बहस तीब्र भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीले व्यहोरेको क्षतिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा पुर्ती गर्नका निम्ति पार्टी एकता र वामगठबन्धनको दिशातर्फ अग्रसर हुनुपर्ने बहुसंख्यक एमाले नेताको राय छ ।

तर, ओली ‘मार्गप्रशस्त’ का नाममा अध्यक्ष पदबाट राजीनामा दिन तयार छैनन् । अझै नेपाल र प्रचण्डलाई ‘ललिपप’ देखाएर गठबन्धन भाड्ने पक्षमा छन् । स्थानीय निर्वाचनको परिणाम आएपछि एमालेभित्र विकसित घटनाक्रमलाई हेर्दा कि पार्टी एकता कि अर्को विभाजनको दृश्य देखिन्छ ।

ओली यसरी नै अहंकारी र दम्भी भएर पेश हुने हो भने पार्टी त रसातलमा पुग्छ नै, थुप्रै नेता र कार्यकर्ताका सपना पनि त्यससँगै चकनाचुर हुने स्थितिबारे कुरा उठाउने नेताहरुलाई ओलीले निषेध गर्न थालेका छन् ।

ओलीसँग नियमित भेट्ने नेताहरूले ‘राजीनामा दिनुहुँदैन’, ‘पालिकाहरुको संख्यामा हारे पनि भोट हाम्रै बढी छ’, ‘बरु, गठबन्धनमा फुट ल्याउनुपर्छ, राजीनामा त दिनै हुँदैन’ जस्ता सुझाव दिँदै फर्किएका छन् । यी सुझावहरू सुनेर ओली दंग छन् । तर, स्वयं ओलीसँग कुरा राख्ने अवसर नपाएका नेताहरू विभिन्न अन्तर्वार्ता र आन्तरिक भेला, बैठकमा ओलीले ‘मार्गप्रशस्त’ गर्नुपर्छ भनिरहेका छन् ।

स्रोत भन्छ, ‘ती कुरा ओलीलाई मन परेको छैन ।’ एमालेका एकजना पोलिट्व्युरो सदस्य भन्छन्, ‘यसकारण एमालेमा ओलीलाई मन नपरेको र मन लागेको काम हुनै सक्दैन । त्यसैले पार्टी एकता सम्भव छैन ।’

एमालेभित्र विकास भएको ‘मार्गप्रशस्त’ र ‘छाड्नै हुँदैन’ भन्ने लाइनमा लागेका नेताहरू पनि थरिथरिका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको लाइन ‘मार्गप्रशस्त’ हो । तर, उनले यो लाइन लिनुका पछाडि पार्टी विभाजन गरेर गएका नेताहरू फर्किउन् र एकता होस् भन्नका लागि हैन । उनले ओलीले राजीनामा दिए त्यसलगत्तै आफू कावा अध्यक्ष हुन पाइन्छ भन्ने लोभले उनलाई ‘मार्गप्रशस्त’ को लाइन मन परेको हो ।

यदि, ईश्वर पोखरेलका लागि त्यस्तो मौका आएमा त्यसैमा टेकेर केही समय पार्टी अध्यक्ष चलाउने र एकताका क्रममा अध्यक्षको हैसियतले आफू र आफ्ना मान्छेहरूको राम्रो सेटलमेन्ट गर्ने नियत उनले राखेको स्रोतले बताएको छ ।

ओलीले पार्टी एकताका निम्ति ‘मार्गप्रशस्त’ गर्नुपर्ने पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, महेश बस्नेतसहितका नेताहरू छन् ।

विशेषतः अन्तिममा माधवकुमार नेपालको साथ छोड्ने, १०बुँदे सम्झौता पक्षधर नेतामध्ये सबैजसो ‘मार्गप्रशस्त’ पक्षधर छन् । तर, शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, खगराज अधिकारी, गोकुल बास्कोटासहितका नेताहरू ‘कुनै हालतमा राजीनामा दिनु हुन्न’ भन्ने लाइनमा छन् ।

उनीहरू देशभरका पालिका प्रमुखका उम्मेदवारहरूले पाएको कूल मत ३८ लाख ९ हजार ६ सय ९८ र कांग्रेससँग ३७ लाख ३४ हजार ७ सय ७९ को आँकडा देखाउँदै पार्टी अहिले पनि ठूलै भएको जिकिर गर्दैछन् ।

‘कुनै हालतमा राजीनामा दिनुपर्दैन’ भन्ने पक्षका नेताहरूसँग ओलीनिवास बालकोटमा अलिक बढी कुराकानी हुने गरेको छ । तीमध्येका एकजना नेताले बताएअनुसार, अब ओलीले पुष्पकमल दाहाल प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर गर्दै एकताको आह्वान गर्ने मनस्थिति बनाएका छन् ।

यसक्रममा प्रचण्डलाई उक्त अफर सुनाउन केही नेतालाई ओलीले खुमलटार पु¥याइसकेका छन् । तर, माधवकुमार नेपाललाई पनि यो अफर सुनाउन भनी अह्राइएका नेताहरू उनीसँग जान हिचकिचाइरहेका छन् । ओलीले यो जिम्मा विष्णु पौडेललाई दिएका थिए । तर, पौडेलले ‘बेकारमा गाली खान किन जानु’ भन्दै आनाकानी गरेका छन् । दृष्टी न्युजबाट

प्रतिक्रिया दिनुहोस