काठमाडौं । पोखरा विमानस्थल भित्र धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएको छ।
हेलिकप्टरमा तेल भर्न जान लागेको ट्यांकर पल्टिएसँगै उडान प्रभावित भएको छ ।
धावनमार्ग वरिपरिको सडकमा तेलको ट्यांकर पल्टिएपछि उडान तथा अवतरणका सबै काम रोकिएको विमानस्थलले जनाएको छ । पेरिमिटर रोड को नजिकै पल्टिएको ट्यांकर हटाउने तयारी भइरहेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताएका छन् ।
अहिले उडान र अवतरण कार्य रोकिएको भन्दै उनले दुइटा क्रेन ल्याएर ट्यांकर उठाइने र त्यसपछि विमानस्थल खुल्ने बताए । पल्टिएको ट्यांकर बिहान ९ बजेसम्म हटाइसक्ने गरी काम अगाडि बढेको उनले बताए।
ट्यांकर पल्टिएपछि इन्धन पोखिएको थियो। पोखिएको इन्धन सफा गर्ने काम भइरहेको छ। हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएको थियो। विमानस्थल केही समयका लागि अवरूद्ध हुँदा विहानी सेवाका उडान तथा अवतरण रोकिएका छन्।
विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी छ ।