Latest News

त्रियुगा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक, विजयी भएका मेयर र उपमेयरले कति मत ल्याए ?

Nepalese Times May 30, 2022 (2 Year ago)    769 Views

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मयेरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत निर्वाचित भएका छन् । सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

बहुमतसहित निर्वाचित बस्नेतले एमाले उम्मेदवार भागवत राउतभन्दा २ हजार ८३ बढी मत ल्याए । बस्नेतले १३ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । राउतले ११ हजार ८ सय ७६ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरेका छन । उनी निर्वातमान मेयर हुन् । अहिले निर्वाचित मेयर बस्नेत २०७४ सालको स्थानीय तह निर्वाचनमा चौधरीसँग ६३ मतले हारेका थिए ।

उपमेयरमाएमालेकी महेश्वरी राई विजयी भएकी छिन् । उपमेयरमा विजयी महेश्वरीले १३ हजार ७ सय ३ मत प्राप्त गरिन् ।
उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९ सय ८१ मत मात्रै प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत प्राप्त गरेकी छन् ।

१६ वडा रहेको त्रियुगा नगरपालिकामा बहुमत सदस्यसहित ९ वडामा कांग्रेस, ४ एमाले र ३ माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । त्रियुगा नगरपालिकामा ६० हजार मतदाता रहेकोमा ४० हजार १ सय २० मत खसेको थियो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा जनतामा खासगरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्याङ्कन भइरहेको छ ।

करिब वर्ष दिनअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धनको सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा एमालेले एक्लै निर्वाचन जित्ने जिकिरका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित बन्यो ।

साथै नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनिस्थानीय तह निर्वाचनको प्राप्त मत परिणामले जोड घटाउको चर्चा चुलिएको हो । राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि यस निर्वाचनको परिणाम रोचक बनेको छ ।

यस निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको कामको मूल्याङ्न गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो । मुलुकको राजधानी काठमाडौँमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्र साहलाई विजयी गराएका छन् ।

यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलले विगतका राम्रो नेतृत्व महानगरमा दिन नसकेका परिणामको नतिजा भएको विश्लेषण गरिएको छ तर काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले अघिल्लो कार्यकालका तथा त्योभन्दा पनि ६५ वर्षका चिरिबाबु महर्जनलाई चुनेका छन् ।

प्रतिक्रिया दिनुहोस