Latest News

यी हुन् तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएका पाइलट र को-पाइलट

Nepalese Times May 30, 2022 (2 Year ago)    554 Views

काठमाडौं ।पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।  जहाजमा चालक दलका तीनजना सदस्य र १९ जना यात्रुको ज्यान गएको छ ।

ताराको ९ एन एईटी ट्वीनअटर विमानका चालक प्रभाकर घिमिरे हुन्। नेपाली अकाशमा लामो समय उडान गरेको अनुभव उनीसँग थियो। उनी इन्स्ट्रक्टर पाइलटसमेत हुन्।

विमानका को–पाइलट भने उत्सव पोखरेल हुन्। २५ वर्षीय पोखरेल रुकुम पश्चिम चौरहजारी नगरपालिकाका हुन्। अविवाहित पाखेरेल फिलिफिन्सको रोयल फ्याई एकेडिमीबाट ग्राजुएट गरेर एक वर्ष अघिमात्रै नेपाल फर्किएका थिए।

उनले ३० अप्रिल २०२१ देखि तारा एयरको जहाज उडाउन थालेको बताइएको छ। उनका दाइ उदीप पनि हाल पाइलट तालिमकै लागि फिलिपिन्समा रहेको पारिवारिक स्रोतले जनाइको छ। उत्सवका आमाबुबा भने जाजरकोटस्थित एक सरकारी विद्यालयका शिक्षक हुन्।

जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए। ‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’

समिट एयरले जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो। जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस