Latest News

प्रचण्डले एमालेसँग राखे एकताको प्रस्ताव, के गर्लान् ‌ओली ?

Nepalese Times May 28, 2022 (1 Year ago)    1364 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले अहिलेपनि एमालेका धेरै नेता/कार्यकर्ताप्रति आफ्नो विश्वास रहेको भन्दै फेरि एकता गर्न सकिने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीमा दम्भ र अहंकार नहुने हो भने अन्य कार्यकर्तासँग मिलेर काम गर्न सकिने बताए।

‘नेकपा एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा छ, विश्वास छ। अहिलेपनि,’ उनले भने, ‘यो प्रवृत्ति जसमा यतिधेरै अहंकार र दम्भ नहुने हो भने अरु सबै नेकपा एमालेका कार्यकर्तासँग मिलेर काम गर्न कठिन हुने देख्दिँन। अझै उहाँले जसरी घोचपेच गर्नुभयो यसले म धेरै चिन्तित भएको छु।’

ओलीले राष्ट्रियसभादेखि स्थानीय निर्वाचनसम्मको परिणामबाट केही रियलाइज गरेको होला भन्ने आफूले सोचेको भएपनि त्यस्तो नपाएको प्रचण्डले गुनासो गरे।

ओलीले संसदमा उभिएर मन्तव्य गर्दा ओलीले झुटो मात्र बोलेको बताए। ‘उहाँले ३ घन्टा बोल्नुभयो, ३ घन्टामा वामपन्थी एकताको पक्षमा वातावरण बनाउने कुरा पो गर्नुहुन्छ कि?, कहिँ आत्मालोचना गरेर मैले गल्ती गरेँ भन्नुहुन्छ कि?’ उनले भने, ‘अदालतले, गठबन्धनले भनेको कुरामा पुनसमीक्षा गर्नेतिर जानुहुन्छ कि भन्ने सोचेको त उहाँ त सुरुदेखि अन्तिमसम्म अरुलाई गाली गर्ने, बदनाम गर्ने र मेरो दृष्टिमा धेरै झुट कुरा बोल्नुभयो। उहाँ आफ्नो अहंकार र दम्भबाट पर जानुभएको छैन् भन्ने देखियो।’

‘मैले त सोच्थेँ, उहाँ हुँदोखाँदाको दुईतिहाइ बहुमतको सरकार, बालुवाटारमा उहाँले अलि गृहकालिन ढंगले रहन्छु भनेर तयारी गर्नुभयो। सरकार गयो, बालकोट असयमार्नै जानपर्यो। आफ्नै सरकार ढलाएर, पार्टी फुटाएर गएपछि अलिकति रियलाइजेसन भयो भन्ने लाग्थ्यो’ उनले भने, ‘त्यसपछि अलिकति त आयो होला भन्ने लाग्थ्यो। आफूतिर फर्कनुहुन्छ होला जस्तो लाग्या थियो। राष्ट्रियसभाको चुनावबाट केही न केही त आयो होला भन्ने लाग्थ्यो, अहिलेको स्थानीय तहको निर्वाचनपछि त पक्कैपनि उहाँले आत्मसमीक्षा गर्नुहुन्छ र देशको राजनीतिक स्थायीत्वका लागि र कम्युनिस्ट आन्दोलनको हितका लागि कुरा गर्नुहोला भन्ने लागेको थियो।’

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी संसदीय चुनावबाट जितेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

शनिबार संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले एमाले अध्यक्ष ओली दुई पटक प्रधानमन्त्री बन्दा माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री भएको र अब एक्लै जितेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन् ।

‘तपाईं दुई पटक प्रधानमन्त्री हुँदा माओवादी केन्द्रकै सहयोगमा हुनुभएको होइन ? एक्लै प्रधानमन्त्री भएको सम्झनुहुन्छ भने त्यो भ्रम त्यागिदिनुहोस् । तपाईंकै भाषामा भन्ने हो भने पहिलो पटक माओवादी केन्द्रकै बैशाखीमा प्रधानमन्त्री हुनुभएको हो । दोस्रो पटक हाम्रै मतमा प्रधानमन्त्री बन्नुभएको हो । एक्लै प्रधानमन्त्री बन्नुभएको हो भने अबको चुनावबाट जितेर प्रधानमन्त्री भएर देखाउनुस् ।’

 

प्रतिक्रिया दिनुहोस