Latest News

पोखराका नवनिर्वाचित मेयर आचार्यलाई आफ्नै बोलि भयो भारी, २४ घण्टे अल्टिमेटमको पत्र थमाईयो

Nepalese Times May 28, 2022 (1 Year ago)    677 Views

काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई २४ घण्टाभित्र स्पटीकरण दिन पत्र काटेको छ ।

निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तहमा निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको भनेर आचार्यले अभिव्यक्ति दिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी विवादमा आएका हुन् ।

आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

यस्तै मेयर आर्चायलाई आयोगले राजनीतिक दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन देखि प्रयोग गर्दै आएको आकार, प्रकार र ढाँचा बमोजिमको मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ? भनेर आयोगले प्रश्न सोधेको छ ।

निर्वाचन आयोगबाट विज्ञटोलीको सिफारिसमा कानून बमोजिम गरेको निर्णयलाई कुनै पदाधिकारीको एकल निर्णय करार गरी व्यक्तिगत दुराग्रह आक्षेप लगाउन मिल्छ, मिल्दैन ? भनेर प्रश्नसमेत गरिएको छ ।

महानगरपालिकाको प्रमुख पदमा निर्वाचित व्यक्तिसँग कानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याई गर्ने आधार, प्रमाण र कारण के छ ? भन्दै प्रष्ट पार्नसमेत आयोगले निार्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस