Latest News

बालेन र सुनिताले पदभार ग्रहण गर्ने समय तोकियो

Nepalese Times May 27, 2022 (1 Year ago)    808 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण सोमबार हुने भएको छ । भोलि र पर्सी सार्वजनिक बिदा हुने भएकोले उनीहरुले अझै ३ दिन पदभार ग्रहण गर्न नपाने भएका हुन् ।

सोमबार महानगरपालिकामा सपथग्रहणपछि मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले औपचारिकरुपमा पदभार ग्रहण गर्ने छन् । उनीहरुको कार्यकाल पाँच वर्षको छ ।

काठमाडौंको हिजो राति मतगणना सकिएको थियो । राति नै निर्वाचन आयोगले परिणाम घोषणा गर्यो भने आज बिहान मेयर बालेन्द्र साहलाई औपचारिक बधाइ दियो । त्यसपछि बालेनको विजयोत्सव चलिरहेको छ ।

उपमेयरमा निर्वाचित सुनिता डंगोलको पनि आज संक्षिप्त र्‍याली थियो । भोली उनीसहित काठमाडौंमा एमालेबाट निर्वाचितहरुको औपचारिक धन्यवाद र्‍याली निकाल्ने तयारी छ ।

यस्तै काठमाडौंको मेयरका लागि प्रतिस्पर्धा गरेका ५२ जनाको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरुले उम्मेदवारीका लागि निर्वाचन आयोगमा राखेको धरौटी खोसिएको हो ।

काठमाडौं महानगरमा उम्मेदवारी दिएका ५५ जनामध्ये स्वतन्त्र उम्मेदवार बालेन्द्र साह सर्वाधिक मतका साथ विजयी भए । यस्तै कांग्रेस र एमालेका उम्मेदवारले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुबाहेक अरु सबै उम्मेदवारको जमानत जफत भएको छ ।

काठमाडौंमा उल्लेख्य भोट ल्याएर पनि स्वतन्त्र उम्मेदवार सुमन सायमी जमानत जोगाउन असफल भए । उनले १३ हजार ७७० भोट ल्याएका थिए ।

साझा विवेकशील पार्टीकी समीक्षा बास्कोटाले जमानत जोगाउन सकिनन् । उनको तराजु चुनाव चिन्हमा ६४७ भोटमात्रै पर्यो । अघिल्लो स्थानीय चुनावमा साझा र विवेकशील पार्टीका दुई उम्मेदवारले उल्लेख्य भोट ल्याएका थिए ।

काठमाडौंमा ३ लाख २४२ मतदाता रहेकोमा १ लाख ९० हजार ९६२ भोट खसेको थियो । त्यसमध्ये ७ हजार ६८२ मत पूर्ण बदर भएको छ । मेयर पदमा १ लाख ५९ हजार ९०६ भोट सदर भएको छ । त्यसैले जमानत जोगाउन यसको १० प्रतिशत अर्थात १५ हजार ९९० भोट ल्याउनुपर्ने थियो । तर, तीन उम्मेदवारबाहेक अरुले यो संख्या छुन सकेनन् ।

काठमाडौंमा उठेका ५५ जनामध्ये ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये बालेन र सुमन सायमीबाहेक अरुले उल्लेख्य भोट ल्याउन सकेनन् । मेयरको प्रतिस्पर्धामा उत्रेका एक उम्मेदवारले आफैलाई भोट नदिएको पाइएको छ । आयोगले सार्वजनिक गरेको मत परिणाममा उनको भोट शून्य छ ।

आफ्नै विश्वास जित्न नसकेका यी अभागी उम्मेदवार हुन् रोशन शाही । उनले भालु चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । तर, आफैले प्रतिस्पर्धी उम्मेदवारलाई भोट हाले वा उनको मत बदर भयो वा उनी मतदानमै उपस्थित भएनन् ।

अर्का एक उम्मेदवारले सम्भवतः आफ्नैमात्र भोट पाएका छन् । भूईकटहर चुनाव चिन्ह लिएर लडेका स्वतन्त्र उम्मेदवार राजन कार्कीले १ भोटमात्रै ल्याए । यो भोट उनको आफ्नै हो वा अरु कसैले उनलाई एक भोट हालेर उनले अन्तै हालेका हुन् भन्ने चाहिँ एकिन गर्न सकिँदैन ।

काठमाडौंको मेयरमा लडेका ५५ मध्ये ५१ जनाले एक हजारभन्दा कम भोट ल्याए । एक हजारभन्दा बढी भोट ल्याउनेमा बालेनसहित केशव स्थापित, सिर्जना श्रेष्ठ, सुमन सायमी र मदनदास श्रेष्ठमात्रै छन् ।

यस्तै १४ जना उम्मेदवारले सिंगल डिजिटमा भोट ल्याएका छन् । १० भन्दा कम भोट ल्याउनेमा सबै स्वतन्त्र उम्मेदवार छन् । न्यून भोट ल्याउनेमा प्रायः स्वतन्त्र उम्मेदवार छन् ।

पालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिन एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्छ । यस्तै वडाध्यक्षले १ हजार र सदस्यले पाँच सय रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने प्रावधान छ । यदि सम्बन्धित पदमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा ती उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस