Latest News

काठमाडौंको मेयरमा हार स्वीकार गर्दै सिर्जना सिंहले बालेन साहलाई दिइन् बधाई

Nepalese Times May 27, 2022 (1 Year ago)    756 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिएकी छन् । उनले आफ्ना मतदाताप्रति आभार प्रकट गर्दै बालेनलाई बधाई दिएकी हुन् ।

मतले चुनाव जित्न नसकेपछि नगरबासीको मन जित्न सफल भएको भन्दै उनले बालेनलाई बधाई तथा शुभकामना दिएकी हुन् ।

‘काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा नगरबासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति हृदयदेखि आभार प्रकट गर्दछु’, उनले भनेकी छन्, ‘निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।’

उनले उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिएकी छन् । आगामी दिनमा पनि नगरको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सिंहले सहयोगी सबैप्रति आभार व्यक्त गरेकी छन् ।

यस्तो छ उनको विज्ञप्ति

आभार, सम्मान र बधाई

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु l

विजयी हुने गरि निस्चयनै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें l अत लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापुर्वक स्वीकार र आत्मसात गर्दछु l

काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु l साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु l

निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथिहरु, शुभेक्छुकहरू ,
संचारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू,
सामाजिक संजालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

मेरो प्रेरणाको श्रोत ससुराबुवा सर्वोच्च नेता गणेशमान सिंह एवं सासुआमा महिला नेतृ मंगलादेवी सिंहको आदर्श अनुरुप सदैब एक निस्ठावान सिपाहीका रुपमा लोकतन्त्र, नेपाली काँग्रेस पार्टी, काठमाडौ महानगरवासी अनि सिंगो देशको सेवामा अनवरत उत्साहपुर्वम लागिरहने संकल्पपनि यो घडिमा व्यक्त गर्न चाहन्छु l जय नेपाल !

सिर्जना सिंह
नगर प्रमुखको उम्मेदवार
काठमाडौं महानगरपालिका

प्रतिक्रिया दिनुहोस