Latest News

काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा, बाँकी रहेको वडा नम्बर १४ मा यस्तो छ कडा टक्कर

Nepalese Times May 26, 2022 (1 Year ago)    819 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अब वडा नम्बर १४ को मात्रै मतगणना आउन बाँकी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन विजयी भइसकेका छन् ।

उनको विजयको औपचारिक प्रतिक्षा मात्रै बाँकी छ । मतगणना सकिन लाग्दा बालेन स्वयम् राष्ट्रिय सभागृहमा आएका छन् । उनका समर्थकहरुले विशाल र्‍याली निकाल्ने तयारी गरेका छन् ।

हाल मतगणना जारी रहेको वडा नम्बर १४ मा १०५६२ मत खसेकोमा ९ हजार ४ सय ५२ मत गनिसकिएको छ । यस वडाको वडाध्यक्षमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । हालसम्म कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठले ३०९३ र एमालेकी रश्मी खड्काले ३०७४ भोट ल्याएकी छन् । राप्रपाका आनन्दप्रसाद श्रेष्ठको १०२६ भोट आएको छ ।

कांग्रेसले काठमाडौंमा सर्वाधिक १८ वडा जितिसकेको छ । यस्तै १२ वटा वडा एमालेको भागमा परेका छन् । एउटामा नेकपा एसका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले पनि खाता खोलेको छ । काठमाडौं महानगरमा एकीकृत समाजवादीको पहिलो र एक मात्र वडाध्यक्षका रूपमा ईश्वरमान डंगोल विजयी भएका छन् ।

उनले वडा नम्बर १५ बाट डंगोलले जित हासिल गर्दै पार्टीको बीउ जोगाएका हुन् । भर्खरै सम्पन्न भएको मतगणना अनुसार डंगोलले ३४७६ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरे भने एमालेका पूर्णकाजी डंगोललाई १३९३ भोट आयो ।

ईश्वरमान यसअघि पनि वडा नम्बर १५ का वडाध्यक्ष हुन् । यस स्थानीय चुनावमा उनी उपमेयर पदका आकांक्षी थिए । तर, टिकट नपाएपछि वडाध्यक्षमै उठे । आफ्नो वडामा उनी निकै लोकप्रिय छन् ।

मेयरमा यस वडामा सबैभन्दा बढी स्वतनत्र उम्मेदवार बालेनले भोट ल्याएका छन् । उनले २१०६ भोट ल्याउँदा एमालेका केशव स्थापितले १५६८ र कांग्रेसकी सिर्जना सिंहले १५०९ भोट ल्याइन् । काठमाडौं महानगरका निवर्तमान ३ जना वडाध्यक्ष नेकपा एस प्रवेश गरेका थिए । तीमध्ये टिकट चुनाव जित्ने उनीमात्र हुन् ।

यस्तै गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस