Latest News

काठमाडौं महानगरपालिकामा ३ वटा वडाको मतगणना चल्दै, यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times May 26, 2022 (1 Year ago)    527 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा अब ३ वटा वडाको अन्तिम मत परिणाम आउन बाँकी छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

हाल वडा नम्बर १४, १५ र १६ को मतगणना चलिरहेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब ८ हजार हाराहारीमा मत गन्न बाँकी रहेकाले बिहीबार नै अन्तिम नतिजा आउने अपेक्षा गरिएको छ ।

काठमाडौं महानगरपालिकाको खसेको मतमध्ये हालसम्म १ लाख ८३ हजार ६७९ मत गणना सकिएको छ । मेयर पदमा बालेन्द्र साहले ५९ हजार १४९ मत पाएका छन् भने नेपाली काँग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् ।

यस्तै एमालेका केशव स्थापितले ३७ हजार २१६ मत पाएर तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी उपमेयरमा एमालेकी सिर्जना डंगोलले सबैभन्दा धेरै मत पाएकी छन् ।

उनले ६६ हजार ८७८ मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाएकी छन् भने राप्रपाका उम्मेदवारले ११ हजार ६४७ मत पाएका छन् ।

गन्न बाँकी मत भन्दा धेरै संख्याको मतान्तर भएपछि साह र डंगोल क्रमशः मेयर र उपमेयरमा विजयी भइसकेका छन् । मतगणना सकिएपछि निर्वाचन आयोगले औपचारिक घोषणा गर्नेछ ।

यस्तै काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडामा एमालेको प्यानलै विजयी भएको छ । सायमीको वडा नम्बर १३ को वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित भएका छन् । मानन्धरले ३१२४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले २६५४ मत प्राप्त गरेका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार बालेनले १७८८ मत पाए भने सायमी स्वयमले १७३४ मत प्राप्त गरे । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १५१५ र कांग्रेसकी सिर्जना सिंहले ११५६ मत पाइन् ।

यस्तै काठमाडौं महानगरपालिका १७ को वडाध्यक्षमा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन् । मानन्धरले २७०८ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन् ।

यो वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १२३९ मत पाएका छन् । । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १०३५ र कांग्रेसकी सिर्जना सिंहले ११२४ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस