Latest News

पृथ्वी सुब्बा गुरुङलाई कारबाही गर्ने केपी ओलीको यस्तो तयारी, एमालेमा खैलाबैला

Nepalese Times May 26, 2022 (1 Year ago)    1324 Views

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई एमालेकै कार्यकर्ताले अन्तर्घातीको आरोप लगाएका छन्। पोखरामा बुधबार उपमेयर मञ्जुदेवी गुरुङसहितको विजयी सभामा बोल्दै गर्दा उनीविरुद्ध नाराबाजी भएको थियो ।

पोखरा महानगर कमिटीले स्थानीय तह निर्वाचनमा विजयी भएका उपप्रमुख, ३३ मध्ये ९ वडाध्यक्ष र सदस्यहरुलाई बधाई दिन राखिएको कार्यक्रममा एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङले जब बोल्न थाले, नाराबाजी सुरु भयो।

उनीहरुले ‘अन्तर्घाती होसियार’, ‘अन्तर्घाती मुर्दावाद’, ‘अडियो भिडिओ काण्ड सार्वजनिक गर’ भन्ने नारा लगाए। पछि उत्तेजित र आक्रोशित कार्यकर्तालाई एमाले पोखरा अध्यक्ष दिलिप न्यौपानेले थामथुम गर्ने प्रयास गरे। सम्बोधन सकेर गुरुङ कार्यक्रमस्थलबाट बाहिरिए।

त्यसैगरि संगठन विभाग प्रमुख खगराज अधिकारी पनि सम्बोधन सक्नासाथ बाहिरिए। सभामा पृथ्वीसुब्बाले पोखरामा समाजवादीले जित्दा आफूलाई दुःख लागेको बताएका थिए। पोखराको मेयरमा एमालेका कृष्ण थापाको हारमा पृथ्वीसुब्बाको हात रहेको आरोप लगाइएको छ।

यसअघि उनलाई टिकट नै नदिन र त्यसपछि हराउन लागेको भन्दै संगठन विभाग प्रमुख खगराज अधिकारीको समूह उनीविरुद्ध देखिएको छ। गुरुङले भने आफूमाथि षड्यन्त्र भएको जिकिर गर्दै आएका छन्।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिकामा जित्न कांग्रेस नेतृत्वको पाँच दलीय सत्तागठबन्धनले पैसाको खोलो बगाएको आरोप लगाएका छन्।

पोखराको उपमेयरमा एमालेबाट विजयी मञ्जु गुरुङसहितका जनप्रतिनिधिलाई बधाई दिन बुधबार आयोजित सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘पोखराको मेयर गुमाउँदा हामीलाई ठूलो पीडा भएको छ। तर हामीले उपमेयर जितेका छौँ’, उनले भने, ‘एकीकृत समाजवादीलाई निषेध गरेर अस्तित्व संकटमा पारेका थियौँ। तर पोखरामा उनीहरुले शीर उठाउन पाए।’

गुरुङले पोखराको मेयर हार्दा हार्दै पनि पार्टीको शान जोगाउन सकेको दाबी गरे। ‘पराजित भएका छौँ, पीडित छौँ तर हारमा आत्तिने काम गर्न सक्दैनौँ’, उनले भने, ‘३३ वडामध्ये ३० जित्न सक्छौँ भन्ने थियो। तर त्यसो भएन।’

उनले सत्तागठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन शक्तिको दुरुपयोग गरिएको पनि आरोप लगाएका छन्। ‘सत्तागठबन्धनले व्यापक राज्यसत्ताको दुरुपयोग गर्यो। पोखरामै पैसाको अत्यधिक खोलो बगाएर निर्वाचन परिणाम उल्ट्याउने काम गर्यो’, उनले भने, ‘तर राज्यशक्तिको दुरुपयोगका बावजदु उपमेयरमा मञ्जुले जित्नुभयो, नगरसभा र कार्यपालिकामा पनि बहुमत पाएका छौँ।’

पोखरा महानगरको मेयरमा एमाले उम्मेदवार हराउन पृथ्वीसुब्बा गुरुङकै हात रहेको आरोप लागिरहँदा नेकपा एमालेकाम अध्यक्ष केपी शर्मा ओलीले पनि अरुको कारणले भन्दा पनि पार्टीभित्रकै अन्तर्घातले पराजय भोग्नुपरेको बताइरहेका छन् ।

अध्यक्ष ओलीले आवश्यक छानविन गरेर पृथ्वीसुब्बा गुरुङलाई नै कारबाही गर्ने तयारी गरेको बालकोट स्रोतले बताएको छ । यस्तै ओलीले पोखरासहित अन्तर्घात भएको भनिएका ठाउँहरुमा पनि आवश्यक छानविन गरेर कारबाही गर्ने तयारीमा लागेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस