Latest News

काठमाडौं महानगरः सुमन सायमीको वडामा एमालेले मार्यो बाजी, मानन्धर विजयी

Nepalese Times May 26, 2022 (1 Year ago)    567 Views

काठमाडौं । काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीको वडामा एमालेको प्यानलै विजयी भएको छ । सायमीको वडा नम्बर १३ को वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर निर्वाचित भएका छन् ।

मानन्धरले ३१२४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले २६५४ मत प्राप्त गरेका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार बालेनले १७८८ मत पाए भने सायमी स्वयमले १७३४ मत प्राप्त गरे । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १५१५ र कांग्रेसकी सिर्जना सिंहले ११५६ मत पाइन् ।

यस्तै काठमाडौं महानगरपालिका १७ को वडाध्यक्षमा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन् । मानन्धरले २७०८ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन् ।

यो वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १२३९ मत पाएका छन् । । उक्त वडामा मेयरका एमाले उम्मेदवार केशव स्थापितले १०३५ र कांग्रेसकी सिर्जना सिंहले ११२४ मत पाइन् ।

को हुन् बालेन साह ?

३१ वर्षीय बालेन्द्र साह उर्फ बालेन पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी ¥यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् । २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए ।

नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, –यापर तथा कवि–लेखक साहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ । विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागे ।

निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी साहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

उनले काठमाडौंको मेयरमा उमेद्वारी दिने गरी तयारी ५ बर्ष अगाडीदेखी नै गरेका थिए, यो विचमा उनले घरबेटीसँग बालेन, अबको काठमाडौं जस्ता लोकप्रिय अभियानहरुसमेत संचालन गरे । बाहिरबाट काठमाडौं पढ्न गएका विद्यार्थी नै उनका लागी सबैभन्दा चुनाव प्रचारका मुख्य स्रोत थिए ।

‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ । थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु,’ उनी भन्छन्, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ । समग्रमा एउटा शहर, गाउँ र देश चलाउनलाई जे–जे काम गरिन्छ, त्यो कुरामा संलग्न हुँदै आएको छु ।’

भौतिक पूर्वाधार निर्माणको योजना त छँदैछन्, यसमध्ये पनि बालेनको प्राथमिकतामा परेको छ काठमाडौंको सडक । सडक सुधारेर काठमाडौं सुधार्ने उनको योजनामा सहयोगी हुनेछन् विद्युतीय सवारी साधन ।

उनी भन्छन्, ‘हामीले विस्तारै काठमाडौं उपत्यकालाई नै २४ घन्टा खोल्नुपर्छ भनेका छौं । रेष्टुरेन्टहरूसँगै सरकारी कार्यालय पनि बेलुकीसम्म खुल्छन् । अनि सेवाग्राही राति आउँछन् र विद्युतीय बस चढेर जान्छन् । यसबाट जाम पनि घट्छ ।’ वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन साह बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस