काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
यादव गठबन्धनप्रति रुष्ट रहेको थाहा पाएलगत्तै एमाले अध्यक्ष ओलीले भेट गरेका हुन् । ओलीले गठबन्धनको विकल्प खोज्न अध्यक्ष यादवलाई आग्रहसमेत गरेका छन् ।
यद्यपि, अध्यक्ष यादवले एमाले अध्यक्ष ओलीलाई कुनै ठोस जवाफ नदिएको यादव निकट एक नेताले बताए । उनका अनुसार अनौपचारिक रूपमा अध्यक्ष यादवले गठबन्धनका नेताहरूसँग स्थानीय तह निर्वाचनमा पाएको ‘धोका’बारे गुनासो गरिसकेका छन् ।
चुनावी समीक्षाका लागि बस्ने गठबन्धनको बैठकमा जसपाले ठोस रूपमा आफ्नो कुरा राख्ने सोच बनाएको उनको भनाइ छ । विराटनगर महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको मत परिणामको समीक्षा गर्दा गठबन्धनको मुख्य घटक काँग्रेसबाट धोका भएको पुष्टि भएको जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले बताए ।
उनले भने, ‘विराटनगर महानगरपालिकामा गठबन्धनका मुख्य घटक काँग्रेसले इमानदारिता देखाएन, यो कुरा मतपरिणामले नै पुष्टि हुन्छ ।’ विराटनगर महानगरपालिकाको माथिल्लो भेग अर्थात् वडा नम्बर १, २, ३, ५, ६, ७, ८, १९ को मत परिणाम हेर्दा काँग्रेसका कार्यकर्तामध्ये अधिकांशले महानगर प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारलाई मत दिएका छन् । जबकि गठबन्धनबाट उपप्रमुखमा अमरेन्द्र यादव उम्मेदवार थिए । उनलाई महानगरको माथिल्लो भेगबाट खासै मत परेको छैन ।
काँग्रेसबाट प्रमुखका उम्मेदवार नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गर्दा सोही गठबन्धनबाट उपप्रमुखमा उम्मेदवार बनेका जसपा नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मतमात्र प्राप्त गरेका छन् । गठबन्धनबाट उपप्रमुखले पाएको भन्दा दोब्बरभन्दा बढी मत प्रमुख पदका उम्मेदवारले पाएका छन् ।
एमालेबाट प्रमुख पदमा उम्मेदवार बनेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याउँदा उपप्रमुखका एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याएकी छन् । इमानदारीपूर्वक गठबन्धनलाई मतदान ग¥यौं तर गठबन्धनबाट काँग्रेसले आफ्नो इमानदारिता नदेखाएको मन्त्री यादवले बताए ।
विराटनगर महानगर प्रमुखमा नागेश कोइरालाको तुलनामा उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादवको मत बढी बदर भएको छ । नागेश कोइरालाको २१ हजार ३५८ मत बदर भएको छ भने अमरेन्द्र यादवको ३४ हजार १६७ मत बदर भएको छ । जसपाले यो बदर मतको बारेमा पनि कुरा उठाएको छ ।
पहाडी–मधेसीको फिलिङका कारण पनि अमरेन्द्र यादवको कम मत पाएको जसपाका नेताहरू बताउँछन् । जसपाका एक नेताका अनुसार पहाडी–मधेसीबीच रहेको दुरी घटाउन यसरी मिलाएर उम्मेदवारी दिन लगाइए पनि त्यो फलदायी हुन नसकेको निर्वाचन परिणामले देखाएको छ ।
जसपा मधेस प्रदेश समितिका सदस्य एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य रामअषिश यादवले पनि गठबन्धनमा काँग्रेसले धोका दिएको बताए ।
गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा जसपाका लालकिशोर साह उम्मेदवार थिए । तर काँग्रेसले त्यहाँ बागी उम्मेदवार दिन लगाएर गठबन्धनका उम्मेदवारलाई हराएको प्रदेश सांसद रामअषिश यादवको आरोप छ ।