Latest News

संघीय चुनावका लागि सुजाता कोइरालाले गरिन् यस्तो तयारी, कहाँबाट दिँदै छिन् उम्मेदवारी ?

Nepalese Times May 25, 2022 (1 Year ago)    1077 Views

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संघीय चुनावका लागि आवश्यक तयारी थालेकी छिन् ।

उनले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेकी छिन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणासमेत गरिसकेकी छिन् ।

उनले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्नेसमेत बताएकी छिन् । उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनावका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले १५ वर्षपछि चुनाव लड्न आफ्नै गृहजिल्ला रौतहट फर्किने भएका हुन् ।

नेपाल गौर नगरपालिका वडा नम्बर २ का मतदातासमेत हुन् । उनले मतदान गरेको नगरपालिकामा नेकपा एसले मेयर र उपमेयरसहित बहुमत जितेको छ ।

मेयर शम्भु साहले पनि पार्टी अध्यक्ष नेपाल रौतहट १ बाट चुनाव लड्दा पार्टीले सहजै जित्ने दावी गरेका छन् । गौरमा होइन नेपालकै निर्वाचन क्षेत्रमा रहेको बौधीमाई नगरपालिकामा पनि नेकपा एसले जितेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर ६ मा पराजित भएपछि नेपाल काठमाडौंबाट चुनाव लड्दै आएका थिए । अब आफ्नै जन्मथलो गौरबाटै चुनाव लड्ने एकीकृत समाजवादीका अध्यक्ष नेपालले आवश्यक तयारी गरेका हुन् ।

रौतहटमा एकीकृत समाजवादीले अहिलेसम्म चारवटा पालिका जितेको छ भने अर्को एउटामा प्रतिस्पर्धा छ । नेकपा एसले गौर र बौधिमाईसहित राजदेवी र बृन्दावन नगरपालिकामा जित निकालिसकेको छ ।

गरुडा नगरपालिकामा नेकपा एमालेसँग प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको मतको भर नहुने र गठबन्धन गर्दा पनि ठेगान नहुने भएकाले रौतहट नेपालका लागि सुरक्षित ठानिएको छ ।

काठमाडौंमा माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनहरा, शंखरापुर, महानगरपालिकाका ९ र ३२ वडामा कतै पनि नेकपा एकीकृत समाजवादीले जित निकाल्न सकेको छैन ।

रौतहटबाट चुनाव लड्न कांग्रेस, माओवादी र जसपाको समेत गठबन्धनको सहयोगले नेपाललाई जित्न सहज हुने नेकपा एकीकृत समाजवादीको ठम्याइ छ । नेपाल रौतहटबाट चुनाव लडेको अवस्थामा नेकपा एसले गठबन्धनमा काठमाडौं ५, ७ र ८ नम्बर क्षेत्र दावी गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस