Latest News

काठमाडौंको अर्को वडामा पनि एमालेले मार्यो बाजी, महर्जन विजयी

Nepalese Times May 24, 2022 (1 Year ago)    1051 Views

काठमाडौं । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन् । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।

महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका छन् ।

महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् । कामपामा हालसम्मा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अघिकृत राजुकुमार खतिवडाले बताए ।

यस्तै काठमाडौं महानगरपालिकामा १ लाख ५४ हजार ८४६ मत गनेर सकिएको छ छ । साढे १ लाखभन्दा धेरै भोट गनेर सकिँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

मंगलबार दिउँसोसम्मको अपडेट अनुसार साहले ५१ हजार १६३ मत पाएका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेकी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंह ३२ हजार ५९ मत आएको छ ।

तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापित ३१ हजार १६६ मत आएको छ । मतगणना जारी छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५१ मत खसेको थियो । अब ३६ हजार ३४० मत गन्न बाँकी छ ।

यस्तै मेयर पदमा स्वतन्त्र उम्मेदवार सुमन सायमीले ल्याएको भोटले धेरैलाई आश्चर्यमा पारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा जस्ता स्थापित पार्टीका उम्मेदवारहरूलाई उनले पछाडि छोडेका छन् ।

राप्रपाका मदनदास श्रेष्ठ र विवेकशीलकी समीक्षा बास्कोटा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । अघिल्लोपटक विवेकशील र साझा पार्टीका उम्मेदवारहरुले कुल मिलाएर ४२ हजारभन्दा बढी भोट ल्याएका थिए । यसपाली समीक्षाले हजार भोट कटाउन मुस्किल पर्ने देखिएको छ । यस्तोमा सुमन सायमीले कसरी ल्याए यत्रो भोट भन्ने धेरैलाई कौतुहल हुन सक्छ ।

चुनावअघि सायमी उनी खासै चर्चामा थिएनन् । उनले लामो तयारी गरेर चुनावमा होमिएका पनि होइनन् । ३० दिन अगाडि मात्रै आफ्नो राजनीतिक यात्रा सुरु भएको सायमी बताउँछन् ।

उनले १२ वैशाखमा आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए । १७ गते चुनावचिन्ह आँखिझ्याल पाएपछि बल्ल भोट माग्न हिँडे । उनले मुस्किलले १५ दिन आफ्नो चुनावचिन्हमा भोट माग्न पाए।

प्रतिक्रिया दिनुहोस