Latest News

फेरि एमालेमै फर्कने झलनाथ खनालको तयारी, केपी ओलीसँग के–के भयो कुराकानी ?

Nepalese Times May 23, 2022 (1 Year ago)    1683 Views

काठमाडौं । प्रतिनिधिसभा २ पटकसम्म विघटन भएपछि झलनाथ खनाल तत्कालिन नेकपा हुँदा माधव नेपाल–प्रचण्ड कित्तामा उभिए । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतियो ।

पार्टी एकताअघिकै अवस्थामा दुबै पार्टी फर्किएपनि नेकपा एमालेभित्रको विवाद साम्य हुन सकेन । अन्ततः माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी जन्मियो । खनाल पनि त्यतैतिर लागे ।

पछिल्लो समय भने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अध्यक्ष माधव नेपालसँग असन्तुष्ट रहेका छन् । एमसीसी परियोजना पास गर्ने बेलादेखि नै खनाल अध्यक्ष नेपालसँग रुष्ट बन्दै आएका हुन् ।

स्थानीय तह निर्वाचनमा पनि खनालले नेपाली कांग्रेसलगायत दलसँग तालमेले गर्दा आफूहरुले धोका पाउने बताउँदै आए । तर, माधव नेपालकै जोडबलमा चुनावी तालमेल भयो । खनाल चुनावको माहोल सकिन नपाउँदै कांग्रेसबाट धोका भएको र अब एमालेसँग तालमेल गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले नेपालका सबै कम्युनिष्टहरु एक हुनुपर्नेमा जोड दिँदै अब आफू पनि यस्तै अवस्था रहिरह्यो भने एकीकृत समाजवादीबाट विद्रोह गरेर एमाले फर्कने तयारीमा रहेको बताउन थालेका छन् ।

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा मात्रै उनले कम्युनिष्ट शक्तिहरु एक हुनुको विकल्प नरहेको र नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्ने भनेका थिए ।

अब सबै कम्युनिष्टहरुले पूनर्विचार गर्नुपर्नेमा जोड दिँदै उनले एमालेलाई सिध्याउनको लागि आफूहरुले कुनै षड्यन्त्र नगरेकोसमेत बताए ।

संघीय चुनावअघि नै एमालेसँग सहकार्य हुने सम्भावना रहेको भन्दै उनले त्यसो हुन नसके आफू मात्रै भए पनि नेकपा एमाले फर्कने र कम्युनिष्ट एकताको जग सुरु गर्ने बताएका छन् ।

यहि तयारी अनुसार खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बारम्बार संवाद गरिरहेका छन् । उनले एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा भने, ‘तपाईहरुले अब गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको छ । सबै कम्युनिष्टहरु एक हुनुको विकल्प छैन । अलि लचकता देखाउनुपर्यो सबैजनाले ।’

जवाफमा ओलीले भने, ‘म पनि कम्युनिष्ट एकताकै पक्षमा हो । तर माधव कुमार नेपालबाहेकका कम्युनिष्ट शक्तिहरु एक हुने कुरामा म सहमत छु । माधवबाहेक सबै एकता गर्ने कुरामा फेरि बहस गर्न सकिन्छ ।’

यस्तै एमाले अध्यक्ष ओलीले खनाललाई नेकपा एमाले फर्किएर कम्युनिष्ट एकताको पहलमा सहयोग गर्नसमेत आग्रह गरेको एक नेताले बताए । जवाफमा खनालले यदि कम्युनिष्ट एकताका लागि सहि मार्ग हो भने आफू नेकपा एमालेमा फर्कन कुनै समस्या नरहेको बताए ।

यस्तै स्थानीय तहको चुनाबमा अपेक्षा अनुसारको नजिता आत्मसाथ गर्न नसकेको निष्कर्षसहित एमालेका नेताहरुले माओवादी केन्द्रका नेताहरुसँगको छलफललाई निरन्तरता दिइरहेका छन् ।

चुनावी तालमेलप्रति असन्तुष्ट नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउने पहल सुरु गरेका छन् । स्थानीय निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरु अहिले पनि छलफलमा रहेका छन् ।

यसैक्रममा स्थानीय तहको चुनावको नतिजा नसकिदै केही दिनअघि एमाले अध्यक्ष ओलीले एमाले नेताहरुलाई नेकपा माओवादी अध्यक्ष प्रचण्ड भेट्न सुटुक्क खुमलाटर पठाएका थिए ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल शुक्रबार विहान खुमलटार पुगेको बताइएको छ । स्थानीय चुनाव पछि नेताहरु बीचको भेटलाई निकै महत्वका साथ लिइएको र नेपाली राजनीतिलाई तरङ्गीत समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस