Latest News

काठमाण्डौंको विहानी अपडेट सार्वजनिक, ‘कोर एरिया’ मा मत गन्दा कसले कति मत ल्याए ?

Nepalese Times May 23, 2022 (1 Year ago)    1024 Views

काठमाडौं ।काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याएर अग्रता कायम गरेका छन् ।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाएकाम छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत र एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् ।

काठमाडौंमा यसअघि एमालेबाट मेयर जितेका विद्यासुन्दर शाक्य र अहिलेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको वडाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

‘कोर एरिया’ मानिने वडा नम्बर २१ को एक हजार मतगणना हुँदा एमालेका मेयर उम्मेदवार केशव स्थापित अगाडि छन् । उक्त वडामा स्थापितले ३७३ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५५ मतसहित दोस्रो स्थानमा छिन् । स्वतन्त्र उम्मेदवार बालेन साह भने २२३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै स्थानीय तह निर्वाचन अन्तर्गत अझै केही ठाउँको परिणाम आउन बाँकी छ । सोमबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

५ महानगरपालिकासहित २५ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन। सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।

अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ६, सिराहा, धनुषा, बारा र पर्साबाट १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ। यस्तै बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्।

यस्तै गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीका ३ पालिका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र कोटहीमाई गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ।

यस्तै कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढी गंगा, अछामको साफेबगर नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।

प्राप्त विवरण अनुसार मत गणना भइरहेका पालिकाहरुमा नेकपा एमालेले ७ ठाउँमा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेस ५ ठाउँमा अगाडि छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) ३, एकीकृत समाजवादी २, माओवादी केन्द्र २, लोसपा २, स्वतन्त्र २ ठाउँमा अगाडि रहेका छन् २ ठाउँको गणना हुन नै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस