Latest News

चुनावमा सोचेअनुसार नतिजा नआएको भन्दै माधव नेपालले दिए यस्तो प्रतिक्रिया, गठबन्धन के हुन्छ ?

Nepalese Times May 22, 2022 (1 Year ago)    649 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा नआएको प्रतिक्रिया दिएका छन् ।

स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको सोचेजस्तो नतिजा नआएपछि सत्ता गठबन्धन भने कायमै रहने उनले बताएका छन् ।

गठबन्धनप्रति पार्टी बढी नै आशावादी भएकाले पनि नतिजा सोचे अनुसार आउन नसकेको भन्दै उनले गठबन्धन र आफ्नै पार्टीमा पनि यसबारे समीक्षा हुने बताए ।

स्थानीय तहमा सोचेजस्तो नतिजा नआएकै कारण गठबन्धन नटुट्ने भन्दै उनले आगामी दिनमा आफ्नो पार्टी आफ्नै खुट्टामा उभिनेगरी अघि बढ्ने बताए । यो निर्वाचनमा गठबन्धन गरेकाले नै पोखरा महानगर जित्ने अवस्था आएको र हेटौडा उपमहानगर जितिसकेकोसमेत उनले बताए ।

एक महानगर र एक उपमहानगर आफ्नो पार्टीले जित्नु भनेको पनि गठबन्धनकै कारण भएको भन्दै उनले यसलाई एउटा उपलब्धिको रुपमा लिनुपर्ने बताएका छन् ।

प्रतिगमनका पक्षधरहरु अझै सल्बलाइरहेकाले सत्ता गठबन्धन अर्को निर्वाचनसम्म लैजानु आवश्यक रहेको भन्दै उनले मुलुकमा सात दलीय दक्षिणपन्थी अर्को गठबन्धन पनि रहेको बताए ।

यस्तै निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहमध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। हालसम्म प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। कांग्रेसले प्रमुख १२८ र १०१ उपप्रमुखम तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १९० जितेको छ।

०७४ सालको निर्वाचनबाट पहिलो बनेको नेकपा एमालेका उम्मेदवार १९२ पालिका प्रमुख जित्दै दोस्रोमा सीमित भएको छ। एमालेले ७१ पालिका प्रमुख र १२१ अध्यक्ष जितेको छ। त्यसैगरी, ९५ उपप्रमुख १२२ उपाध्यक्ष जितेको छ।

नेकपा माओवादी केन्द्र पहिलाको भन्दा केही सुधार गर्दै यसपटक १२० पालिका प्रमुखमा जितेको छ। उसले २४ मा मेयर ९६ मा अध्यक्ष तथा ३२ उपप्रमुख र ९५ उपाध्यक्ष जितेको छ।

नेकपा एकीकृत समाजवादी पार्टीले ९ पालिका प्रमुख र जनता समाजवादी पार्टी नेपालले २१ प्रमुख जितेको छ। अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले ५७ पालिका प्रमुखमा विजयी हुन सफल भएका छन्।

बाँकी ४० तहमध्ये एमाले १४, का‌ंग्रेस-१०माओवादी र एकीकृत समाजवादी २ -२ स्थानमा र अन्यले १० स्थानमा अग्रता कायम राखेका छन्। दुई स्थानीय तहको मतगणना सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस