काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठकले संसदीय निर्वाचन संसद्को पूरा कार्यकाल सकिएपछि गर्ने सहमति गरेको बैठकमा सहभागी एक नेताले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसद्को पूरा कार्यकाल सकिएपछि गर्ने सहमति गरेको हो । स्थानीय निर्वाचन अगाडि नै गठबन्धनमा संसदीय निर्वाचनबारे छलफल भएको थियो ।
स्थानीय निर्वाचनको परिणामलाई तुलनात्मक रूपमा उत्साहप्रद मानेका कारण गठबन्धन दलहरू अझै केही समय संगठनमै केन्द्रित हुन तयार भएका हुन् ।
स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै संसदीय निर्वाचनबारे राजनीतिक चासो बढेको छ । आगामी मंसिरमा संसदीय निर्वाचन भएको ५ वर्ष पूरा हुँदै छ ।
मंसिरमा संसदीय निर्वाचन हुने अधिकांशको आँकलन भए पनि सरकार भने फागुनमा आम निर्वाचन गर्ने ‘मुड’ मा देखिएको छ । २०७४ फागुनमा प्रतिनिधिसभाको कार्यकाल सुरु भएकाले फागुनमै संसदीय निर्वाचन हुने सम्भावना प्रबल छ ।
संसदीय निर्वाचन फागुनमा हुने र सर्वोच्चको आदेशले पनि संसद्लाई पूरा कार्यकाल चल्न दिनुपर्छ भनेकोले त्यसैअनुसारको तयारी भएको ति नेताले बताए ।
संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने’ उल्लेख छ ।
वर्तमान प्रतिनिधिसभाले २०७४ साल फागुनदेखि काम सुरु गरेको थियो । त्यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले गरेको फैसलामा पनि ‘संविधानको धारा ७६ ९५० बमोजिम बनेको प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा मात्रै संसद् विघटन गरी निर्वाचन घोषणा गर्न सक्ने’ आशय रहेको देखिन्छ ।
गठबन्धनका नेताहरूबिच विगतमा अर्ली इलेक्सनबारे चर्चा चले पनि पर्याप्त कानूनी आधार नभएका कारण सेलाएको थियो ।
गठबन्धनलाई सहज हुन्छ भन्दैमा चुनाव भइहाल्ने नभएको भन्दै बैठकमा सहभागी एक नेताले राजनीतिक र संवैधानिक परिस्थिति हेर्दा संसदीय निर्वाचन फागुनमा हुने बताए ।
चुनावी तालमेलबारे गठबन्धनको प्रारम्भिक समीक्षा ‘सन्तोषजनक’ नै रहेको उनको भनाइ छ । उनले भने, ‘कांग्रेस पहिलो पार्टी भयो, माओवादीले पहिलेभन्दा आकार बढायो, मधेसको मैदानमा जसपाले पनि इज्जत राख्यो र संगठन बनाउन नपाउँदै नेकपा एकीकृत समाजवादीले पनि महानगर र उपमहानगरको नेतृत्व गर्दै छ ।’
उनले भने, ‘यस्ता धेरै कारणले गठबन्धन दलबिच तत्काल फाटो आउने सम्भावना छैन । त्यसैले हतारमा चुनाव गर्ने भन्दा केही समय लिने पक्षमा धेरै दलहरू देखिन्छन् ।’