काठमाडौं । स्थानीय तह निर्वाचनको माहोल सेलाउन नपाउँदे यतिखेर वाम एकताको कुरा चल्न सुरु भएको छ । केही दिनअघि मात्रै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको घटनालगत्तै वाम एकताको विषयले झनै प्राथमिकता पाएको हो ।
तर, नेकपा एमालेका उपाध्यक्ष पौडेलले अहिले वामपन्थी एकताको कुरा गर्ने बेला नभएको र आफूहरु त्यो पक्षमा नरहेको खुलासा गरेका छन् ।
स्थानीय तह निर्वाचनमा एमालेले हार बेहोरेपछि पुनः वामपन्थी एकताको चर्चा चलिरहेका बेला नेता पौडेलले आफूहरु मङ्सिरमा हुने निर्वाचनमा केन्द्रित हुने र वाम एकताको कुरा सम्भव नरहेको बताए ।
नेता पौडेलले दक्षिणपन्थमा लागेकाहरूलाई वामपन्थी मानेर उनीहरूसँग एमालेले एकता गर्न नसक्ने बताए । दक्षिणपन्थको पछि लागेर वामपन्थी भन्नेहरूलाई एमालेले वामपन्थी नै नमान्ने भन्दै उनले त्यस्ताहरूसँग एमालेले वामपन्थी एकताको पहल नै नगर्ने बताए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शुक्रबार राष्ट्रिय सभामा बोल्दै एमालेले गल्ती स्वीकारेर आए पुन सहकार्य गर्न सकिने भनेका थिए ।
श्रेष्ठको अभिव्यक्तिप्रति सङ्केत गर्दै पौडेलले भने, ‘हामीले होइन, काँग्रेसलाई नेता मानेर हिँड्नेहरूले गल्ती महसुस गर्नुपर्छ । एमालेले के गरेको छ र ? गल्ती महसुस गर्नुपर्ने ?’ उनले अहिले वामपन्थी एकता गर्ने भन्ने समय पनि नरहेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीको बेला भएको बताए ।
उनले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता पाउन नसकेकोमा पार्टीमा गम्भीर समीक्षा गरिने पनि बताए । २०७४ को स्थानीय तह निर्वाचनको नतिजामा पहिलो पार्टी बनेको एमाले यो पटक दोस्रो स्थानमा खुम्चिएको छ ।
५ वर्षमा झण्डै एक सय पालिका गुमाउने अवस्थामा पुगेको एमाले ६ महानगरबाट बाहिरिने निश्चित भैसकेको छ । समग्र निर्वाचन नतिजाबारे आफूहरुले समिक्षा गर्ने र त्यसपछि कहाँ के कमजोरी भयो भनेर पहिचान गर्ने उपाध्यक्ष पौडेलको भनाइ छ ।
उनले नेकपा एमालेको एक्लै चुनाव लड्ने नीतिमा कुनै कमजोरी नभएको भन्दै भोलिका दिनमा पनि एमाले एक्लै चुनाव लड्ने ल्याकत राख्ने पार्टी भएको दाबीसमेत गरेका छन् ।