Latest News

फेरि वाम एकताको पहल, ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

Nepalese Times May 22, 2022 (1 Year ago)    2027 Views

काठमाडौं । स्थानीय तहको चुनाबमा अपेक्षा अनुसारको नजिता आत्मसाथ गर्न नसकेको निष्कर्षसहित एमालेका नेताहरुले माओवादी केन्द्रका नेताहरुसँगको छलफललाई निरन्तरता दिइरहेका छन् ।

चुनावी तालमेलप्रति असन्तुष्ट नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउने पहल सुरु गरेका छन् । स्थानीय निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरु अहिले पनि छलफलमा रहेका छन् ।

यसैक्रममा स्थानीय तहको चुनावको नतिजा नसकिदै केही दिनअघि एमाले अध्यक्ष ओलीले एमाले नेताहरुलाई नेकपा माओवादी अध्यक्ष प्रचण्ड भेट्न सुटुक्क खुमलाटर पठाएका थिए ।

चुनावी परिणामप्रति सबैभन्दा बढी असन्तुष्टि माओवादीमा देखिएको छ । माओवादी नेताहरु खुलेआम काँग्रेसबाट धोका भएको भन्न थालेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल शुक्रबार विहान खुमलटार पुगेको बताइएको छ । स्थानीय चुनाव पछि नेताहरु बीचको भेटलाई निकै महत्वका साथ लिइएको र नेपाली राजनीतिलाई तरङ्गीत समेत बनाएको छ ।

यस्तै नेकपा एमालेकी सचिव पद्मा अर्यालले वामपन्थी दलहरुबीच एकताको सम्भावना नभए पनि आगामी प्रदेश र संघको निर्वाचनमा तालमेल हुन सक्ने बताएकी छन् ।

हिजो वाम गठबन्धन मात्र होइन, पार्टी एकता पनि भएकै हो, तर असामयिक दुर्घटना हुन पुग्यो । त्यसैले हामीले क्षणिक आवेग र उत्तेजनामा आएर निर्णय गर्दैनौं । म तत्काल पार्टी एकताको सम्भावना देख्दिनँ, तर संघ र प्रदेश निर्वाचनमा विचार मिल्ने मित्रशक्तिसँग तालमेल हुन सक्छ ।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि नेकपा एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङलगायत नेताहरुसँग वाम एकताको प्रस्ताव अघि सारेका छन् । उनले एमालेले समिक्षा गरेमा धेरै सम्भावनाहरु भएको बताएका छन् ।

माओवादी नेता वर्षमान पुन प्रचण्ड र ओलीबीचको सहमति बनाउन निरन्तर लागिरहेका छन् । पुनले नेकपा एमालेका नेताहरु योगेश भट्टराई, विशाल भट्टराई, पृथ्वी सुब्बा गुरुङलगायत नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।

यसअघि प्रचण्डले भरतपुरको सभामा बोल्दै माओवादीलाई मत नदिएर टेन्सन नदिन चेतावनी दिएका थिए । उनले घुमाउरो तरिकाले गठबन्धन नै तोड्न सक्ने समेत बताएका थिए । यसले राजनीतिकवृत्तमा तरङ्ग ल्याएको थियो ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल समेत गठबन्धनबीचको तालमेलमा धोका भएको भन्दै असन्तुष्ट छन् । उनले गठबन्धनबारे पुनः विचार गर्ने समेत बताएका छन् । खनालले एमालेसँग पुनः एकताको सम्भावना औल्याए । गठबन्धनबीच चुनावी तालमेलले नेपाली काँग्रेसलाई सबैभन्दा फाइदा पुगेको छ ।

यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ताको तयारी भएको छ । स्रोतका अनुसार अबको केही दिनमै उनीहरुबीच भेटवार्ता गर्ने तयारी भएको हो ।

उनीहरुबीच विगतको समिक्षा गर्ने र आउँदै गरेको संघीय चुनावबाट नै मिलेर अघि बढ्नेबारे छलफल गरेर अघि बढ्ने तयारीमा दोस्रो तथा तेस्रो तहका नेताहरुको भनाइ छ । प्रचण्ड र ओलीबीच हुने भेटवार्तामा पार्टी एकताकोसमेत कुरा हुनेछ ।

पार्टी एकताका क्रममा नेकपा एमालेबाट विभाजित भएको माधव कुमार नेपाललाई समेट्नेबारे भने अहिलेसम्म एमाले र मओवादी केन्द्रका नेताहरुले कुरा अघि बढाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस