Latest News

एमालेका यी ६ नेताले दिए सामूहिक राजीनामा (सूचीसहित)

Nepalese Times May 22, 2022 (1 Year ago)    710 Views

काठमाडौं । स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै नेकपा एमाले पोखरामा विवाद चर्किएको छ । यही क्रममा एमाले पोखरा महानगरपालिकाको एउटा वडाका पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोट पार्टी वडा कमिटीबाट ६ जना सदस्यले सामूहिक राजीनामा दिएका हुन् । पार्टी प्रति निष्ठावान र चुनाव प्रचारमा सक्रिय हुँदाहुँदै पनि केही जिम्मेवार नेताहरुकै कारण अन्तर्घात भएको र सोका कारण वडामा एमाले जिताउन नसकिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा वडा कमिटी उपाध्यक्ष उत्तम गिरी, सदस्य थमन गिरी, बल बहादुर थापा, पार्वती गिरी (निर्मला), पवित्रा गिरी र दिपक पुरी रहेका छन् ।

उसो त पोखरा महानगरपालिकामा समेत अन्तर्घात भएको भन्दै विवाद सुरु भइसकेको छ । त्यस्तै, पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता जोगाएका छन्। ९२ हजार ५६१ मत गन्दा उनले ३७ हजार १२२ मत पाएका छन्। यो एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३ हजार २७२ मतले बढी हो।

उनलाई पछ्याएका एमालेका कृष्ण थापाले ३३ हजार ८५० मत ल्याएका छन्।उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मन्जुदेवी गुरुङबीच प्रतिस्पर्धा छ। उपमेयरमा कोपिलाको ३८ हजार ५७६ र मन्जुको ३७ हजार ५४५ मत रहेको छ ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाएका छन्। पछिल्लो मत परिणाम अनुसार काठमाडौँ महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका हुन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाएका छन् । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि रहेका छन् ।

यस्तै चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७८५४को मतान्तर बनाएकी छन् ।

दाहालले ३६ हजार २७२ मत पाउँदा सुवेदीले २८ हजार ४१८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन् ।

स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७०३ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ।

हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेका निर्वाचन आयोगले जनाएको छ ।नेकपा एमालेले हालसम्म १९० वटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ। मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो।

प्रतिक्रिया दिनुहोस