Latest News

भरतपुरको मेयरमा रेनु दाहाल जित नजिक, एमालेका विजय ५ हजार मतले पछि

Nepalese Times May 21, 2022 (1 Year ago)    868 Views

काठमाडौं । विशेष चासोको रुपमा रहेको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहालको जित पक्कापक्की जस्तै भएको गठबन्धनका नेताहरुले बताउन थालेका छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५ हजारभन्दा धेरै मतले पछि पार्दै रेनु दाहाल अघि बढेसँगै उनको जित सुनिश्चित भएको माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत गठबन्धनमा रहेका दलका नेताहरुले भन्न थालेका छन् ।

नेकपा एमालेका नेताहरुले नै मतान्तर धेरे नै भइसकेकोले रेनुलाई पछि पार्न सुवेदीलाई अब गार्हो पर्ने भन्दै निराशाका कुरा गर्न थालेका मतगणनास्थलमा रहेका एक नेताले बताएका छन् ।

हालसम्म गणना भएको ६९६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २७०७८ मत पाएकी छन्। उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५०१८ मतले पछि पारेकी छन्। सुवेदीले २२०६० मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन्। यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९१३२ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७१६६ मतसहित पछ्याइरहेकी छन्।

महानगरको वडानम्बर १३ को अन्तिम नतिजा आएको छ यहाँ माओवादी केन्द्रका प्रकाश दवाडीले १५४७ मत पाएर विजयी भएका छन्। उनले नेकपा एमालेका शान्तराज आचार्यलाई हराएका हुन्। आचार्यले १२४३ मत पाएका थिए।

यस्तै वडा नम्बर १४ मा नेपाली कांग्रेसका राजेन्द्र खाँखी विजयी भएका छन्। उनले १९११ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण गुरूङले १५७७ मत पाए।

यो सँगै २९ वडा रहेको भरतपुरमा १४ वडाको अन्तिम परिणाम आएको छ। जसमा १, २, ४, ५, ६, ८ र १० नेपाली कांग्रेसले जितेको छ। यस्तै ३, ११ र १२ नेकपा एमालेले जितेको छ भने ७ र ९ नेकपा एकीकृत समाजवादीले जितेको छ।

प्रतिक्रिया दिनुहोस