काठमाडौं । स्थानीय तहको चुनावको नतिजा नसकिदै एमाले नेताहरु नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न सुटुक्क खुमलाटर पुगेका छन्। स्थानीय तहको चुनाबमा अपेक्षा अनुसारको नजिता आत्मसाथ गर्न नसकेको एमालेका शिर्ष नेताहरु प्रचण्ड भेट्न पुगेका हुन् ।
चुनावी तालमेलप्रति असन्तुष्ट नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउने पहल सुरु गरेका छन् ।
स्थानीय निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरुले यस्तो पहल सुरु गरेका हुन् । चुनावी परिणामप्रति सबैभन्दा बढी असन्तुष्टि माओवादीमा देखिएको छ । माओवादी नेताहरु खुलेआम काँग्रेसबाट धोका भएको भन्न थालेका छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल शुक्रबार विहान खुमलटार पुगेको बताइएको छ । स्थानीय चुनाव पछि नेताहरु बीचको भेटलाई निकै महत्वका साथ लिइएको छ र नेपाली राजनीतिलाई तरङ्गीत समेत बनाएको छ ।
यस्तै नेकपा एमालेकी सचिव पद्मा अर्यालले वामपन्थी दलहरुबीच एकताको सम्भावना नभए पनि आगामी प्रदेश र संघको निर्वाचनमा तालमेल हुन सक्ने बताएकी छन् ।
हिजो वाम गठबन्धन मात्र होइन, पार्टी एकता पनि भएकै हो, तर असामयिक दुर्घटना हुन पुग्यो । त्यसैले हामीले क्षणिक आवेग र उत्तेजनामा आएर निर्णय गर्दैनौं । म तत्काल पार्टी एकताको सम्भावना देख्दिनँ, तर संघ र प्रदेश निर्वाचनमा विचार मिल्ने मित्रशक्तिसँग तालमेल हुन सक्छ ।
यस्तै स्थानीय तह निर्वाचनमा भएको तालमेलप्रति नेकपा माओवादीका नेताहरु पनि असन्तुष्ट बनेका छन् । माओवादी र एकीकृत समाजवादीका नेताहरुले पुरै विश्वास गरेर कांग्रेसको पक्षमा भोट दिएको भए पनि आफूहरुले भने धोका पाएको माओवादी केन्द्रसहितका नेताहरुको गुनासो छ ।
माओवादी केन्द्रका अध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङलगायत नेताहरुसँग वाम एकताको प्रस्ताव अघि सारेका छन् । उनले एमालेले समिक्षा गरेमा धेरै सम्भावनाहरु भएको बताएका छन् ।
माओवादी नेता वर्षमान पुन प्रचण्ड र ओलीबीचको सहमति बनाउन निरन्तर लागिरहेका छन् । पुनले नेकपा एमालेका नेताहरु योगेश भट्टराई, विशाल भट्टराई, पृथ्वी सुब्बा गुरुङलगायत नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।
यसअघि प्रचण्डले भरतपुरको सभामा बोल्दै माओवादीलाई मत नदिएर टेन्सन नदिन चेतावनी दिएका थिए । उनले घुमाउरो तरिकाले गठबन्धन नै तोड्न सक्ने समेत बताएका थिए । यसले राजनीतिकवृत्तमा तरङ्ग ल्याएको थियो ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनाल समेत गठबन्धनबीचको तालमेलमा धोका भएको भन्दै असन्तुष्ट छन् । उनले गठबन्धनबारे पुनः विचार गर्ने समेत बताएका छन् । खनालले एमालेसँग पुनः एकताको सम्भावना औल्याए । गठबन्धनबीच चुनावी तालमेलले नेपाली काँग्रेसलाई सबैभन्दा फाइदा पुगेको छ ।