Latest News

काठमाडौंमा केशव स्थापितले कम मत ल्याएपछि रिसाए योगेश भट्टराई, दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 17, 2022 (2 Year ago)    810 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले जति मत गन्दै गयो त्यति नै अग्रता लिइरहेका छन् । यसअघि आफू अरु उम्मेदवारलेभन्दा दोब्बर बढि भोट ल्याएर विजयी हुने घोषणा गरेका एमाले उम्मेदवार केशव स्थापित बालेनभन्दा आधा कम मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार शाहले केशव स्थापित र सिर्जना सिंहको जोड्दा पनि त्यो भन्दा धेरै भोट ल्याएपछि अहिले सबैको ध्यान काठमाडौं महानगरपालिकाको नतिजामा केन्द्रीय भएको हो ।

काठमाडौं महानगरमा जे जस्तो मतपरिणाम आइरहेको छ त्यो आफूहरुका लागि अप्रत्यासित भएको नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिक्रिया दिएका छन् । उनले काठमाडौंका मतदाताहरू राजनीतिक दलले प्रस्तुत गरेका उम्मेदवारहरूप्रति त्यति सन्तुष्ट नदेखिएको र यो परिणाम निक्कै अप्रत्यासित भएको बताए ।

नेकपा एमालेले काठमाडौंमा केशव स्थापितलाई मेयर उम्मेदवार उठाउँदा उनले चमत्कार गर्लान् भन्ने ठानेको भन्दै उनले भने, ‘उहाँले पनि चमत्कार नै गर्छु भनेर विश्वास दिलाउनु भयो, पहिले पनि अलिअलि चमत्कार गरेको मान्छे केशव स्थापित कार्ड सफल हुन्छ कि भन्ने नेतृत्वलाई लाग्यो। कहिले कहिले त नेतृत्वको पनि विश्वास गलत हुन्छ नि।’

काठमाडौंलगायत सहर केन्द्रित मतदाताहरूले दलका उम्मेदवारप्रति देखाएको असन्तुष्टि हेर्दा दलहरूले गम्भीर आत्मसमीक्षा गर्न जरूरी भइसकेको सचिव भड्डराईको भनाई छ ।

बालेन शाहले जुन मत ल्याएका छन् आफूहरुले नचिताएको कुरा भएको र यो मत दलहरूप्रतिको असन्तुष्टिका रूपमा हेर्ने हो भने अब ठूला दलहरूले कमजोरी कहाँ भयो र सुधार के गर्नुपर्छ भन्ने भएको बताए ।

एमाले र कांग्रेसभित्र एउटा ठूलो भ्रम रहेको भन्दै उनले भने, ‘हामी स्थापित पार्टी हौं, हाम्रो विकल्पमा अरू कोही आउन सक्दैन भन्ने। त्यो सोच सत्य होइन। अब पनि राजनीतिक दलले आफूलाई नसच्याउने, कार्यशैली नसुधार्ने, सही एजेण्डा नबोक्ने, सही मान्छेलाई नेतृत्वमा नल्याउने र जनताको अपेक्षा अनुसार काम गरेनन् भने जनताले विकल्प खोज्छन्। तर अहिले बालेन शाहले ल्याएको मत हेरेर जनताले दललाई छोडिसके भन्ने निष्कर्षमा पुग्न हुन्न। उनले जस्तो परिणामका साथ अघि बढिरहेका छन् यो राजनीतिक दलको ढोका ढकढक्याएको मान्नुपर्छ। त्यो ढकढक्याइ राजनीतिक दललाई सुधारिनका लागि हो ।’

अहिले माओवादी मात्र होइन एमालेबाट छुट्टिएर गएको एकीकृत समाजवादी, जसपा र जनमोर्चा समेत एमाले विरूद्धको गठबन्धनमा रहेको भन्दै उनले त्यसले मतको संख्यामा प्रभाव पार्ने र रिजल्ट पनि प्रभाव पार्ने बताए ।

उनले भने, ‘ चुनावमा पार्टीभित्र असन्तुष्टि देखिए। टिकट दिने बेला पारदर्शिता भएन, जित्ने मान्छेले पाएनन् नेतृत्वको मनपर्नेरनपर्ने आधारमा टिकट वितरण भयो भन्ने गुनासो देखिन्छ। पार्टी जति एकताबद्ध हुनुपर्थ्यो त्यति भएको देखिएन। त्यही पनि म अहिलेसम्मको मत परिणामलाई समग्रतामा हेर्छु। एमाले जुन प्रतिकूलतमा चुनाव लड्दै थियो, त्यसका आधारमा रिजल्टलाई बेठिक भन्न मिल्दैन।’

प्रतिक्रिया दिनुहोस