Latest News

काठमाडौं महानगरमा १८०० मत गन्दा सिर्जनाले केशव स्थापितलाई पछ्याउँदै, कसको मत कति ?

Nepalese Times May 14, 2022 (1 Year ago)    1526 Views

काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म १८ सयभन्दा धेरे मत गणना गरेर सकिएको छ ।

अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । बालेनले ६३३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । केशवको अहिलेसम्म ४७२ मत रहेको छ ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छिन् । सिर्जनाले अहिलेसम्म ३३५ मत पाएकी छिन् ।

यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन्। मतगणना जारी छ। कुल तीन लाख ५ सय ८४ मतदाता रहेको काठमाडौँमा एक लाख ९० हजार एक सय ७० मत खसेको थियो । ५५ जना मेयरका उम्मेदवार रहेको काठमाडौँ महानगरमा मेयरमा निर्वाचित हुनका लागि कम्तीमा पनि ६० हजार मत कटाउनुपर्छ ।

प्रारम्भिक मतगणना अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले उत्साहजनक मत प्राप्त गरेका छन् । उनी काठमाडौँको भित्री नेवार बस्तीमा भन्दा बाहिरी भागमा बढी लोकप्रिय छन्, यद्यपि जित्नका लागि भने उनले भित्री भागमा पनि प्रतिस्पर्धी ढंगले मत ल्याउनुपर्ने हुन्छ ।

भित्री नेवार बस्ती रहेका वडाहरू डल्लु (१५), सोह्रखुट्टे (१६), क्षेत्रपाटी (१७), नरदेवी (१८), दमाइटोल (१९), भीमसेनस्थान (२०), ज्यावहाल (२१), टेबहाल (२२), ॐवहाल (२३), मखन (२४), जनवहाल (२५), महाबौद्ध (२७) को मत परिणाम हेर्नुपर्छ ।

यस क्षेत्रमध्ये टेकु (१२), कालीमाटी (१३), डल्लु (१५), क्षेत्रपाटी (१७) मा मेयरका उम्मेदवार सुमन सायमीले धेरै मत ल्याए भने त्यो बालेनका लागि फाइदाजनक हुन्छ । अन्यथा यहाँ स्थापित दल कांग्रेस वा एमालेले अग्रता लिएको खण्डमा बालेनका लागि अनुकुल नहुनसक्छ ।

अर्को तर्क के पनि छ भने भित्री नेवार बस्तीबाट अहिले धेरै मानिसहरू सहरका बाहिरी भागमा बसोबास गर्न गइरहेका छन् र त्यहाँ पनि बालेन शाहको राम्रो प्रभाव रहेको बताइएको छ । सहरका भित्री भागका घर व्यवसायीलाई भाडामा दिएर बाहिरी भागमा बसोबास गर्नेहरूको संख्या पनि अहिले धेरै छ ।

यस्तै भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् । यस्तै नेकपा एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन् । भरतपुरमा दाहाल र सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३१७ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले १९१ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस