Latest News

भरतपुर महानगरको पछिल्लो मत परिणाम सार्वजनिक, मेयर र उपमेयरमा को कति मतले अगाडि ?

Nepalese Times May 14, 2022 (1 Year ago)    1295 Views

काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालबीच कडा टक्कर देखिएको छ । हालसम्म ४०० मत गनिसक्दा रेनु र विजयले बराबरी मत ल्याएका छन् । उनीहरु दुबैजनाले १६७–१६७ मत ल्याएका छन्।

कांग्रेसबाट विद्रोह गरे स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५१ मत ल्याएका छन्। यस्तै उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २०७ मत ल्याएकी छिन् भने राप्रपाका हिमला गुरुङले ११७ मत ल्याएका छन् ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै नेकपा एमालेले यो पटक भरतपुरमा बलियो उम्मेदवार उठाएको छ । यो पटक देवी ज्ञवालीललाई मेयरको टिकट दिने चर्चा भएपनि अन्तिम समयमा आएर विजय सुवेदीले टिकट पाएका छन् ।

उनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको टिकट लिएर मैदानमा आएका हुन् । स्थानीय चुनावको घोषणा भएदेखि नै तरंगित भरतपुर नयाँ–नयाँ आशंका र अनुमानबाट गुज्रिरहेको छ ।गत स्थानीय निर्वाचनमा सबैभन्दा चर्चामा रहेको महानगरपालिका भरतपुरमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी रेनु दाहाललाई नेपाली काँग्रेसले सघाएको थियो ।

मत गणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि यो महानगरपालिका चर्चाको शिखरमा रहेको थियो । यसपाली पनि कांग्रेससहित पाँच दलीय गठबन्धनले दाहाललाई नै मेयरमा उम्मेदवारी बनाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका नगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राप्रपासँग गठबन्धन गर्दै नेकपा एमालेले मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, उपमेयरमा राप्रपाबाट हिमाली गुरुङ उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा दाहालले ४३ हजार १ सय २७ मत र उनका प्रतिद्धन्द्धी नेकपाल एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए ।

उपप्रमुखमा नेपाली कांग्रेसबाट पार्वती शाह ठकुरीले ४७ हजार १ सय ९७ भोट ल्याएकी थिइन भने नेकपा एमालेबाट दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन । भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस