Latest News

काठमाडौंको आधिकारिक अपडेट : बालेनले ४०२ मतसहित अगाडि बढ्दा अरु कसले कति मत ल्याए ?

Nepalese Times May 14, 2022 (1 Year ago)    826 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेको छ । शाहले पछिल्लो मतपरिणाम अनुसार ४०२ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१९ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २०२ मत प्राप्त गरेकी छिन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका सुमन सायमीले ६४ मत ल्याएका छन् । यस्तै उपमेयर पदमा सबैभन्दा धेरै नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले ५२० मत ल्याएकी छिन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ११० मत ल्याएका छन् भने विवेकशील शाझाले ११० मत प्राप्त गरेका छन् । विहान साढे ९ बजेबाट मतगणना सुरुभएको थियो । अहिले पनि मतगणना भइरहेको छ ।

कुल तीन लाख ५ सय ८४ मतदाता रहेको काठमाडौँमा एक लाख ९० हजार एक सय ७० मत खसेको थियो । ५५ जना मेयरका उम्मेदवार रहेको काठमाडौँ महानगरमा मेयरमा निर्वाचित हुनका लागि कम्तीमा पनि ६० हजार मत कटाउनुपर्छ ।

प्रारम्भिक मतगणना अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले उत्साहजनक मत प्राप्त गरेका छन् । उनी काठमाडौँको भित्री नेवार बस्तीमा भन्दा बाहिरी भागमा बढी लोकप्रिय छन्, यद्यपि जित्नका लागि भने उनले भित्री भागमा पनि प्रतिस्पर्धी ढंगले मत ल्याउनुपर्ने हुन्छ ।

भित्री नेवार बस्ती रहेका वडाहरू डल्लु (१५), सोह्रखुट्टे (१६), क्षेत्रपाटी (१७), नरदेवी (१८), दमाइटोल (१९), भीमसेनस्थान (२०), ज्यावहाल (२१), टेबहाल (२२), ॐवहाल (२३), मखन (२४), जनवहाल (२५), महाबौद्ध (२७) को मत परिणाम हेर्नुपर्छ ।

यस क्षेत्रमध्ये टेकु (१२), कालीमाटी (१३), डल्लु (१५), क्षेत्रपाटी (१७) मा मेयरका उम्मेदवार सुमन सायमीले धेरै मत ल्याए भने त्यो बालेनका लागि फाइदाजनक हुन्छ । अन्यथा यहाँ स्थापित दल कांग्रेस वा एमालेले अग्रता लिएको खण्डमा बालेनका लागि अनुकुल नहुनसक्छ ।

अर्को तर्क के पनि छ भने भित्री नेवार बस्तीबाट अहिले धेरै मानिसहरू सहरका बाहिरी भागमा बसोबास गर्न गइरहेका छन् र त्यहाँ पनि बालेन शाहको राम्रो प्रभाव रहेको बताइएको छ । सहरका भित्री भागका घर व्यवसायीलाई भाडामा दिएर बाहिरी भागमा बसोबास गर्नेहरूको संख्या पनि अहिले धेरै छ ।

प्रतिक्रिया दिनुहोस