Latest News

कांग्रेसका बागी उम्मेदवार विजयी

Nepalese Times May 14, 2022 (1 Year ago)    2391 Views

काठमाडौं । नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी बनेका नरेन्द्र बस्नेत बुटवल उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका छन् । बस्नेत ६३६ मतका साथ विजयी भएका हुन्। उनका निकटता प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र लिगलले ५५१ मत ल्याए ।

लिगल २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रसका माधव प्रधानले ३४८ मत मात्रै प्राप्त गरे । निर्वाचन कार्यालयले विजेताको घोषणा गर्न भने बाँकी छ ।

बस्नेतले पुतली चिन्हबाट चुनावमा उठेका थिए । बस्नेत २०५४ सालमा पनि कांग्रेसबाटै विद्रोह गरेर स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यतिखेर उनले कुचो चुनाव चिन्ह पाएका थिए ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा कांग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।

यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार चाहिँ गठबन्धनमा पराजित भएका छन्।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्षसहित ३ सदस्य जित्दा नेकपा एसका वडा सदस्यका उम्मेदवारलाई भने नेकपा ९एमाले०का उम्मेदवारले पराजित गरेका हुन्।

यो वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार गायत्रीराम बस्नेत विजय भए। उनले २०७४ सालको स्थानीय निर्वाचनमा विजयी उम्मेदवार एमालेका वडाध्यक्ष अम्बिकाप्रसाद गौतमलाई पराजित गरे।

यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा धेरैजसो पालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।तनहुँका १० स्थानीय तहमध्ये ८ वटामा मतगणना जारी रहँदा पाँचवटामा एमालेले अग्रता लिएको हो ।

माओवादीले दुई वटा गाउँपालिकामा अग्रता कायम गर्दा कांग्रेसले एउटामा मात्र अग्रता लिएको हो । ब्यास र भिमाद नगरपालिकाको मतगणना शुरु भएको छैन ।

पछिल्लो मत परिणाम अनुसार तनहुँमा नेकपा एमालेले देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका, सुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र घिरिँ गाउँपालिकामा अग्रता कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस