Latest News

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका रिमाल विजयी

Nepalese Times May 14, 2022 (1 Year ago)    580 Views

नुवाकोट । तीन दलीय गठबन्धनलाई पराजित गर्दै नुवाकोटको तारकेश्वर गाउँपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका नेता नारायणप्रसाद रिमाल विजयी भएका छन ।

एमाले नुवाकोटको जिल्ला कमिटी सदस्य समेत रहेका रिमालले गठबन्धनका उम्मेदवारलाई ४३ मतान्तरमा पराजित गरे । यसअघि नेपाली कांग्रेसले जितेको र उसैको गढ मानिएको वडामा एमालेले विजयको झण्डा फहराएको हो ।

एलेबाट उम्मेदवार बनेका नारायण रिमाल ४ सय ५१ मत ल्याएर विजयी भएका छन । वडाध्यक्षमा नारायण रिमालले नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यसी नवराज रिमालले ३ सय ९८ मतले पराजित गरेका हुन । जम्मा १२ सय ३३ मत खसेकाे थियाे । तारकेश्वरमा नेपाली कांग्रेस, नेकपामाओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको छ ।

त्यसैगरी वडा सदस्यमा एमालेका २ जना र कांग्रेसबाट १ जना विजयी भएका छन् । तारकेश्वर ६ मा यसअघि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र तामाङ विजयी भएका थिए । नेकपा एमाले तारकेश्वरका सहईन्चार्ज समेेत रहेका रिमाल यसअघि २०७४ काे स्थानिय निर्वाचनमा पनि लाेकाेप्रिय मतका साथ वडा सदस्यमा निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचनको मतपरिणामसँगै नतिजा आउन सुरू भएको छ। अहिलेसम्म १० वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित हात पारेको छ।

त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ।जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ। त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङको मनाङ ङिस्याङ गाउँपालिका : नेकपा एमालेका कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका : नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
मनाङको नार्पा भूमी गाँउपालिका : नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका : नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका : नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिका : नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका : नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

त्यस्तै शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो ।

पोखरा महानगरको मतगणना भने शनिबार दिउँसो २ बजेपछि सुरु गर्ने तयारी छ । गणना सुरु भएका महानगरमा विराटनगरमा काँग्रेस, काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी भरतपुर, ललितपुर र वीरगञ्जको नतिजा यो समाचार तयार पार्दा सम्म आइसकेको छैन । महानगरको मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरु धेरै पालिकामा मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा कांग्रेसले अग्रता लिएको छ । एमालेले ३० वटाभन्दा बढी, माओवादी केन्द्रले १२ वटाभन्दा बढी र एकीकृत समाजवादीले १ पालिकामा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस